१६, बैशाख २०८२
बाँके ।बाँकेको खजुरा गाउँपालिका–२ सीतापुरमा आयोजित निःशुल्क महिला यौन तथा प्रजनन स्वास्थ्य शिविरमा १६ जना महिलामा पाठेघरको क्यान्सरको आशंका गरिएको छ। खजुरा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार, २०३ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा १३९ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA टेस्ट) गरिएका थिए, जसमा १६ जना महिलामा VIA पोजिटिभ अर्थात शङ्कास्पद परिणाम देखिएको हो।
स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीका अनुसार, परीक्षणमा पाँच जनामा पाठेघर खसेको समस्या समेत देखिएको छ। शिविरमा आएका ७१ जना महिलामा सर्भिसाइटिस, भ्याजिनाइटिस र भल्भाइटिसजस्ता पाठेघरसम्बन्धी सङ्क्रमणसमेत पाइएको छ।
पाठेघरको शङ्कास्पद क्यान्सर देखिएका, पाठेघर खसेका तथा अन्य सङ्क्रमण भएका महिलाहरूलाई थप परीक्षण तथा उपचारका लागि भेरी अस्पताल रिफर गरिएको भेरी अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. उर्मिला पराजुलीले जानकारी दिनुभयो। उहाँले अधिकांश महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको भन्दै यस्तो अवस्थालाई न्यूनीकरण गर्न सचेतना कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो।
शिविरमा भेरी अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. पराजुली, एचसिआरसी अस्पतालकी वरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ डा. मन्जु बिसी शाह, र नेपालगन्ज मेडिकल कलेजका कन्सल्ट्यान्ट फिजिसियन डा. शंकर केसीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो।
उक्त शिविर भेरी वातावरणीय विशिष्टता समूह (B-Group)ले एएफडी र एमडिएम फ्रान्ससँगको साझेदारीमा सञ्चालन गरेको ‘पेसागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’अन्तर्गत गाउँपालिकासँगको समन्वयमा आयोजना गरिएको थियो। परियोजना संयोजक समद सिद्दिकीका अनुसार, ग्रामीण क्षेत्रमा यस्ता स्वास्थ्य शिविरहरूले ठूलो योगदान पुर्याइरहेका छन्।
शिविरको समापन कार्यक्रममा खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले यस्ता कार्यक्रमहरूले ग्रामीण क्षेत्रका महिलाहरूको स्वास्थ्यमा सुधार ल्याएको उल्लेख गर्दै अन्य वडामा पनि यस्ता शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष धनराम ओली, स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य निरीक्षकहरू नरेश श्रेष्ठ, विष्णु श्रेष्ठ र शमसुद्दिन, एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक तर्क बहादुर थापा, र बिग्रुपका अध्यक्ष डा. इन्द्रबहादुर भण्डारीलगायतको उपस्थिति रहेको थियो।