नेपालगन्जमा महिलाहरुका लागि १५ दिने झोला बनाउने तालिम सुरु

  • नमस्ते कर्णाली

  • १६, बैशाख २०८२
    बाँके । नेपालगन्जका महिलाहरुको सिप विकास र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले १५ दिने प्रारम्भिक झोला बनाउने तालिम सुरु गरिएको छ। तालिमको सोमबार एक कार्यक्रमकाबीच नेपालगन्जमा उद्घाटन गरिएको हो।

    आदिवासी जनजातिहरुको लागि लक्षित उक्त तालिमको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ बाँकेका अध्यक्ष डम्बर बहादुर थापा, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य प्रमोद बहादुर श्रेष्ठ र वरिष्ठ पत्रकार हेमन्त कर्मचारीले संयुक्त रुपमा गर्नुभएको थियो।

    उद्घाटन समारोहमा बोल्दै अध्यक्ष थापाले तालिमले महिलाहरुलाई व्यवसायीक रुपमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो समयमा तालिम लिने तर त्यसको प्रयोग नगर्ने प्रवृत्ति देखिएको बताउँदै उहाँले यो तालिमले व्यवहारिक ज्ञान र प्लाष्टिकमुक्त नेपालगन्ज बनाउन समेत टेवा पुर्याउने धारणा राख्नुभयो।

    कार्यक्रममा केन्द्रीय सदस्य श्रेष्ठ, वरिष्ठ पत्रकार कर्मचारी र महासंघका महासचिव राजन रानामगरले पनि आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। उनीहरूले तालिमपश्चात महिलालाई उत्पादन र बजार व्यवस्थापनमा सहकार्य तथा समन्वय गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

    नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्का अध्यक्ष भुमण्डल श्रेष्ठले तालिमबारे जानकारी गराउँदै सहभागी महिलालाई दुई शिफ्टमा सिप प्रदान गरिने बताउनुभयो।
    घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आयोजनामा सञ्चालित तालिमको उद्घाटन घरेलु कार्यालय प्रमुख कृष्ण बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन ममता थापाले गर्नुभएको थियो।

     

     

  • १६ बैशाख २०८२, मंगलवार ०९:४५ प्रकाशित

  • Nabintech