शुभलक्ष्मी कलेक्शनमा आगलागी : कोहलपुर कपडा व्यवसायी सङ्घद्वारा पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

  • नमस्ते कर्णाली

  • १३, बैशाख २०८२
    बाँके ।कोहलपुर कपडा व्यवसायी सङ्घका साधारण सदस्य मेगराज लम्सालज्यूको सञ्चालनमा रहेको “शुभलक्ष्मी कलेक्शन” मा यही मिति २०८२ साल बैशाख ७ गते राति विद्युतीय शट भएर ठूलो आगलागी भएको थियो। आगलागीका कारण पसलमा रहेका जिन्सी सामान, नगद र फर्निचरहरू पूर्ण रूपमा नष्ट भएका छन्।
    उक्त घटनापछि कोहलपुर कपडा व्यवसायी सङ्घले लम्साललाई पुनःस्थापित गर्न सहयोग अभियान सुरु गरेको  कपडा  व्यवसायि संघका अध्यक्ष राजिव शर्माले जानकारी दिनुभएको छ। सङ्घको पहलमा संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरू, पूर्व कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, पूर्व सल्लाहकारहरू र वर्तमान कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको अथक प्रयासबाट विभिन्न व्यवसायी तथा शुभचिन्तकहरूबाट रू. १,२६,०५५।– (एक लाख छब्बिस हजार पचपन्न) संकलन गरी पीडित मेगराज लम्साललाई हस्तान्तरण गरिएको  शर्माले बताउनु भएको हो।
    रकम हस्तान्तरण कार्यक्रम कोहलपुर कपडा व्यवसायी सङ्घको कार्यालय, NTV रोड, कोहलपुरमा सम्पन्न भएको थियो। कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ की वडा अध्यक्ष कल्पना शर्मा अधिकारी लगायतको उपस्थितिमा उक्त रकम लम्साललाई हस्तान्तरण गरिएको थियो।
    वडा अध्यक्ष अधिकारीले प्राकृतिक विपत्तिका बेला राहत प्रदान गर्ने कार्य निकै सराहनीय भएको बताउँदै यस्तो सहयोगले पीडितलाई तत्काल राहत र सान्त्वना मिल्ने बताउनुभयो। साथै, उहाँले स्थानीय तहबाट पनि आवश्यक सहयोगको प्रक्रिया अघि बढाइरहेको जानकारी दिनुभयो।
    पीडित मेगराज लम्सालले कोहलपुर कपडा व्यवसायी सङ्घप्रति गहिरो आभार प्रकट गर्दै, यस्तो सहयोगले कठिन घडीमा ठूलो सम्बल र हौसला मिलेको बताउनुभयो।

  • १३ बैशाख २०८२, शनिबार १७:०० प्रकाशित

  • Nabintech