कोहलपुरमा दैनिक १० टन फोहोर उत्पादन, व्यवस्थापनमा निजी साझेदारी मोडेल प्रभावहीन

  • नमस्ते कर्णाली

  • १०, बैशाख २०८२
    बाँके । तीव्र सहरीकरणसँगै कोहलपुर नगरपालिकामा दैनिक ८ देखि १० टनसम्म फोहोर उत्पादन हुने गरेको छ। उक्त फोहोरको व्यवस्थापन जिम्मेवारी सार्वजनिक-निजी साझेदारीअन्तर्गत जटायु रिसाइकल्र्स प्रा.लि.ले लिएको भए पनि लक्ष्यअनुसारको संकलन र व्यवस्थापन हुन सकेको छैन।

    नगरपालिका, जटायु रिसाइकल्र्स र सरोकारवालाबीच मंगलबार आयोजित फोहोरमैला व्यवस्थापनका लागि कानूनी दस्तावेज तर्जुमा विषयक कार्यक्रममा नगर क्षेत्रभित्रबाट उत्पादन हुने फोहोरमध्ये ६३ प्रतिशत घरधुरी, ९ प्रतिशत संस्थागत र २८ प्रतिशत व्यवसायिक क्षेत्रबाट उत्पन्न हुने तथ्याङ्क प्रस्तुत गरिएको छ।

    जटायु रिसाइकल्र्सका अध्यक्ष हरि केसीका अनुसार हाल नगरका २४ हजार घरधुरीमध्ये केवल ३ हजार ५ सय घरधुरी मात्र सदस्य रहेका छन्, जसबाट मात्रै फोहोर संकलन हुने गरेको छ। सदस्यले मासिक रू. १०० देखि रू. ५०० सम्म शुल्क बुझाउने गरेका छन्।

    “हाम्रो उद्देश्य नगरलाई फोहोरमुक्त बनाउनु हो, तर नगरबासीको पूर्ण साथ नपाउँदा लक्ष्यमा पुग्न मुस्किल भइरहेको छ”, अध्यक्ष केसीले बताउनुभयो। उहाँका अनुसार हाल कम्पनीले ६ वटा ट्याक्टर, १ टिपर, १ जेसीभी र १ बोलेरो प्रयोग गरी फोहोर संकलन गर्दै आएको छ।

    तर व्यवस्थापन लागत आम्दानीभन्दा अत्यधिक रहेको उहाँले बताउनुभयो “मासिक ८ लाख ९५ हजार खर्च हुनेमा आम्दानी मात्र ५ लाख ९४ हजार छ”, केसीले भन्नुभयो, “साझेदारी मोडेल प्रभावकारी बनाउन दररेट हेरफेर गर्नु जरुरी छ।”

    कार्यक्रममा कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले फोहोर व्यवस्थापनमा नीति कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो। “दीर्घकालीन समाधान खोज्न हामीले जारी नीति, कार्यविधिहरू प्रभावकारी रूपमा लागू गर्नुपर्छ,” उहाँले भन्नुभयो।

    नगरपालिकाले हालसम्म वातावरण संरक्षण ऐन २०७७, सरसफाइ कार्यविधि २०७६, र स्वच्छता निर्देशिका २०७९ लागू गरेको छ। यद्यपि सहभागिहरुले फोहोर फाल्नेहरूलाई जरिवाना गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

    कार्यक्रममा क्रियाशील संघसंस्था, सरोकारवाला निकाय, जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। क्रियसिन नेपालका अध्यक्ष आनन्द मिश्रले “नीति कार्यान्वयन र नागरिक सचेतना” नै फोहोर व्यवस्थापनको मुख्य आधार भएको बताउनुभयो।

     

     

  • १० बैशाख २०८२, बुधबार ११:०२ प्रकाशित

  • Nabintech