भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि एमालेको ध्यानाकर्षण, सिटीस्क्यान र आइसीयू विस्तारमा जोड

  • नमस्ते कर्णाली

  • ९, बैशाख २०८२
    बाँके ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले भेरी अस्पतालको सेवा सुदृढीकरणका लागि अस्पताल प्रशासनलाई औपचारिक ध्यानाकर्षण पत्र बुझाएको छ। सोमबार एमाले केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रको नेतृत्वमा अस्पताल पुगेको टोलीले मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीलाई पत्र बुझाएको हो।

    भेरी अस्पताल सुधारका लागि एमालेले मिश्रको संयोजकत्वमा समिति गठन गरेको छ। सो टोलीमा भास्कर काफ्ले, मोहित शाह, टेकबहादुर केसीलगायत रहेका छन्।

    ध्यानाकर्षण पत्रमा उल्लेख गरिएअनुसार, लाखौं रुपैयाँको लगानीमा जडान गरिएको सिटीस्क्यान मेशिन सञ्चालनविहीन अवस्थामा रहेकाले बिरामीहरूलाई बाह्य केन्द्रमा जानुपर्ने बाध्यता हटाउन तत्काल मर्मत वा नयाँ मेशिन जडान गर्न माग गरिएको छ।
    डा. मिश्रका अनुसार, भेरी जस्तो पश्चिम नेपालकै प्रमुख अस्पतालमा जम्मा १० शैयाको मात्र आइसीयू सञ्चालन हुनु दुःखद विषय हो। कोभिड-१९ महामारीका समयमा निर्माण गरिएका पूर्वाधार प्रयोगविहीन रहनु नहुने बताउँदै तत्काल न्यूनतम दश शैयाको आइसीयू थप चिकित्सक तथा आवश्यक जनशक्ति व्यवस्थापनसहित सञ्चालनमा ल्याउन माग गरिएको छ।

    कोभिड महामारीको समयमा तयार भएको भेरी अस्पतालको पूर्वाधार स्तरोन्नति सम्बन्धी मास्टर प्लान कार्यान्वयनमा ढिलाइ भएको भन्दै, आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम बिनियोजन गर्न समेत ध्यानाकर्षण गराइएको छ।
    भेरी अस्पतालमा छुट्टै प्रसूति गृह नभएकाले गर्भवती महिलाहरूलाई उपचारमा कठिनाइ भइरहेको भन्दै तत्काल प्रसूति सेवा विस्तार गर्न माग गरिएको छ। त्यस्तै, अस्पतालमा विशिष्ट सेवा, पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि स्थायी दरबन्दीको व्यवस्था गरी रिक्त पदहरूमा नियुक्ति गर्नुपर्नेमा पनि एमालेको जोड छ।

    ध्यानाकर्षणपत्रप्रति मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले सकारात्मक प्रतिक्रिया जनाउँदै अस्पतालले आफ्नै क्षमताअनुसारका काम गरिरहेको बताउनुभयो। उहाँले माथिल्लो तहमा पर्ने विषयमा सबै पक्षको समन्वय आवश्यक रहेको र भेरी अस्पतालको सेवा सुदृढ बनाउन सबै मिलेर लाग्नुपर्नेमा जोड दिनुभयो।

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हजारौं बिरामीहरूको भरोसा बोकेको भेरी अस्पताल शहरदेखि विकट गाउँ र हिमालसम्मका नागरिकको जीवनरक्षक केन्द्रका रूपमा स्थापित छ। त्यसैले भेरी अस्पतालको सेवा सुदृढीकरणमा तत्काल ध्यान दिनु समयको माग भएको एमालेले बताएको छ।

  • ९ बैशाख २०८२, मंगलवार ११:२५ प्रकाशित

  • Nabintech