पत्रकारमाथि आक्रमण र अपशब्दप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको गम्भीर आपत्ति

  • नमस्ते कर्णाली

  • ९, बैशाख २०८१
    बाँके । पछिल्ला दिनहरूमा सञ्चारकर्मीमाथि भएका दुव्र्यवहार र अपमानजनक व्यवहारप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले गम्भीर आपत्ति प्रकट गरेको छ। वैशाख ८ गते मायादेवी गाउँपालिका–६, मकरीमा अन्नपूर्ण मिडिया नेटवर्क (एपीवान टिभी) का पत्रकार राधेश्याम विश्वकर्मामाथि भएको दुव्र्यवहारप्रति महासंघले ध्यानाकर्षण गराएको हो।
    समाचार संकलनका क्रममा मन्त्री सहभागी कार्यक्रममा फोटो खिचेका पत्रकार विश्वकर्मालाई दीपेश यादव नेतृत्वको समूहले घेराबन्दी गर्दै त्रसित बनाएको र खिचिएका फोटो तथा भिडियो मेटाएको घटनाप्रति महासंघले गम्भीर चिन्ता व्यक्त गरेको छ। घटनाका प्रत्यक्षदर्शी प्रहरीको मौनता पनि महासंघलाई खटकिएको छ। पत्रकारमाथिको आक्रमण प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको महासंघको ठहर छ।
    त्यस्तै, कोहलपुरबाट प्रकाशन हुने मिसन टुडे राष्ट्रिय दैनिकका वरिष्ठ संवाददाता शुभाकर विश्वकर्मामाथि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले प्रयोग गरेको आपत्तिजनक भाषा पनि निन्दनीय भएको महासंघको भनाइ छ। नागरिकता सम्बन्धी विषयमा सोधपुछ गर्दा ‘फोन गर्ने सबैलाई म दलाल सम्झिन्छु’ भन्ने अभिव्यक्ति प्रमुख जिल्ला अधिकारीबाट आएको बताइएको छ।
    घटनापछि प्रहरी प्रमुखको फोन र केरकारले स्वतन्त्र पत्रकारितामाथि दवाव सिर्जना भएको आभास महासंघले जनाएको छ। यस्ता घटनाले पत्रकारहरूलाई हतोत्साहित बनाउने भन्दै दोषीलाई कारबाही र पीडित पत्रकारलाई क्षतिपूर्तिको माग गरिएको छ।
    महासंघले सबै पक्षलाई पत्रकार आचारसंहिता पालना गर्न आग्रह गर्दै प्रेस स्वतन्त्रतामाथि हुने कुनै पनि प्रकारको हस्तक्षेप अस्वीकार्य रहेको स्पष्ट पारेको छ।

  • ९ बैशाख २०८२, मंगलवार ०८:३४ प्रकाशित

  • Nabintech