८, बैशाख २०८२
बाँके ।बाँकेको दुर्गम तथा सशस्त्र द्वन्द्व प्रभावित क्षेत्र नरैनापुरमा २१ वर्षपछि पुनःस्थापित इलाका प्रशासन कार्यालयले नौ महिनाको अवधिमा १,१५१ जनालाई नागरिकता वितरण गरेको छ।
इलाका प्रशासन कार्यालय नरैनापुरका प्रमुख माधव सिंहका अनुसार, साउन ४ गतेदेखि सेवा सुरु गरेको कार्यालयमार्फत वंशज नागरिकता ८००, वैवाहिक अङ्गीकृत २७०, जन्मका आधारमा वंशज २१ र नागरिकता प्रतिलिपि ६० जना नागरिकलाई वितरण गरिएको छ।
गाउँपालिकामै सेवा सुचारु भएपछि नागरिकहरूले ४५ किलोमिटर टाढा नेपालगञ्ज धाउनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन्। विद्युत् आपूर्तिमा समस्या हुँदा सेवा प्रभावित हुने गरेको भन्दै प्रमुख सिंहले जेनरेटरको माग समेत गरेका छन्।
नरैनापुर–४ का १८ वर्षीय मोहम्मद हासिल खाँ भन्छन्, “पहिला नागरिकता बनाउन नेपालगञ्ज जानुपर्थ्यो, खर्च पनि धेरै हुने। अहिले पालिकामै नागरिकता पाइँदा सजिलो र खर्च पनि जोगियो।” यस्तै, नरैनापुर–२ का आरिफ खाँले इलाका प्रशासन स्थापनाले जनतालाई ठूलो राहत मिलेको बताए।
विसं २०४७ मा स्थापना गरिएको कार्यालय तत्कालीन सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको थियो। अब पुनःस्थापनापछि स्थानीय जनताले राज्यको सेवा आफ्नै गाउँघरमा पाउन थालेका छन्।
नरैनापुर गाउँपालिका अध्यक्ष शाहका अनुसार, “गाउँगाउँमा सिंहदरबार भन्ने नारालाई सार्थक बनाउने दिशातर्फ यो एक महत्वपूर्ण कदम हो। इलाका प्रशासनको उपस्थितिले सरकारको प्रतिबद्धता पुष्टि भएको छ।” उनले कार्यालयलाई गाउँपालिकाको नयाँ भवनमा स्थानान्तरण गर्ने र आवश्यक उपकरण उपलब्ध गराउने बताएका छन्।
३४ हजार ९४२ जनसंख्या रहेको नरैनापुर गाउँपालिकामा इलाका प्रशासनको सेवा सुरु भएपछि नागरिकहरूलाई राहत र सहजताको अनुभूति भएको छ। नागरिकता वितरण कार्य नेपाल नागरिकता ऐन, नियमावली तथा निर्देशिका अनुसार अघि बढाइएको छ।