८, बैशाख २०८२
बाँके ।बाँकेको डुडुवा गाउँपालिकाले यस वर्षदेखि आफ्नै उत्पादनमार्फत किसानलाई उन्नत बीउ वितरण गर्ने व्यवस्था सुरु गरेको छ। पालिकाले पहिलो चरणमा धानको मूल बीउ उत्पादन गरी १४ मेट्रिक टन (१ सय ४२ क्विन्टल) उन्नत जातको बीउ तयार पारी भण्डारण गरेको छ।
पालिकाका कृषि शाखा प्रमुख सुशीलकुमार शर्माका अनुसार, उक्त बीउ करिब २०२ हेक्टर क्षेत्रमा प्रयोग गर्न सकिने क्षमता राख्दछ। बीउलाई प्राविधिक समूहको परीक्षणपछि प्रमाणीकरण गराई कृषि प्रशोधन केन्द्रमा सुरक्षित राखिएको हो।
धानको बिउ यसै याममा किसानलाई वितरण गरिने जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले वितरण प्रक्रिया कार्यपालिकाको निर्णयअनुसार अघि बढाइने बताए।
कृषिमा आत्मनिर्भरता बनाउने उद्देश्यले डुडुवाले अब गहुँको बीउ पनि प्रशोधन गर्न लागिएको जनाएको छ। हाल गहुँ भित्र्याउने समय भएकाले छिट्टै २४० क्विन्टल गहुँ खरिद गरी ल्याब परीक्षणको प्रक्रिया अघि बढाइने कृषि शाखाको योजना छ।
गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीका अनुसार, डुडुवामा करिब ९० प्रतिशत किसान कृषि पेशामा आश्रित छन्। “अब किसानले बीउको लागि भौतारिनुपर्दैन, पालिकाले सहुलियत दरमा बीउ र मलखाद उपलब्ध गराउँदै कृषि उत्पादनमा वृद्धि ल्याउने छ,” अध्यक्ष चौधरीले बताए।
पालिकाले बीउ उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि अत्याधुनिक बीउ प्रशोधन प्लान्ट स्थापना गरेको छ। डुडुवा–२ मा ७ सय मेट्रिक टन क्षमताको भण्डारण केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ, जसले दीर्घकालीन कृषि रणनीतिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य लिएको छ।