५, बैशाख २०८२
बाँके ।सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम जिल्लाबाट आएका ३० जना किशोरीलाई १२ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण (ToT) मार्फत “साथी सहजकर्ता”को रूपमा दक्ष बनाइएको छ। किशोर-किशोरी समूहमा सचेतना अभिवृद्धिका लागि आयोजना गरिएको यो तालिम शसक्त महिला समृद्ध नेपाल परियोजना अन्तर्गत सामुदायिक विकास केन्द्र डोटी र आवाज सुर्खेतको सहकार्यमा सम्पन्न भएको हो।
तालिममा कालीकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, डोटी र कञ्चनपुरका किशोरीहरूको सहभागिता रहेको थियो। किशोरीहरूलाई “मेरो संसार”, “आत्मजागरण”, “अधिकार र कर्तव्य”, “लैङ्गिकता र सामाजिक समावेशीकरण”, “किशोरावस्था”, “राम्रो बानी”, “पोषण”, “नागरिक सहभागिता”, “प्राथमिक उपचार”, “प्राकृतिक स्रोतहरू”, “प्रकोप व्यवस्थापन”, “खर्च बचत”, “यौन तथा प्रजनन स्वास्थ्य”, “लैङ्गिक हिंसा” र “लघु उद्यम विकास” जस्ता १५ वटा विषयमा ज्ञान र सीप प्रदान गरिएको युनिसेफ फिल्ड कार्यालय धनगढीका बालसंरक्षण अधिकृत प्रकाश कैनीले जानकारी दिनुभयो।
तालिम सम्पन्नपछि सहभागी किशोरीहरूलाई आफ्ना गाउँमा गएर छुट्टाछुट्टै ४२ वटा सचेतना सत्र सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ। परियोजना संयोजक शर्मिला पौडेलका अनुसार यो अभियान किशोर-किशोरीहरूको जीवनशैली परिवर्तन गर्ने उद्देश्यका साथ सुरु गरिएको हो।
तालिममा मन्दिप सुरी र सरु शिल्पकारले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। समापन कार्यक्रममा युनिसेफ कर्णाली फिल्ड कार्यालयका बालसंरक्षण अधिकृत कुन्ङ्ग सन्डुप लामा, सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक हेमराज जोशी लगायतले किशोरी सशक्तीकरणका लागि आफ्ना धारणा व्यक्त गरेका थिए।