४, बैशाख २०८२
बाँके ।कोहलपुर नगरपालिका वडा नम्बर १२ र ११ को सिमानामा रहेको डुडुवा पुलको उत्तरतर्फको रक्षा सामुदायिक वन क्षेत्रमा करोडौं रुपैयाँको लगानीमा आधुनिक सुविधा सम्पन्न जैविक पार्क निर्माण कार्यको आज औपचारिक सुरुवात गरिएको छ।
जैविक पार्कको शिलान्यास प्रतिनिधि सभा सदस्य माननीय सूर्य ढकाल र कोहलपुर नगरपालिकाकी उपप्रमुख सङ्गिता सुवेदीले संयुक्तरूपमा गर्नुभएको हो।
शिलान्यास समारोहमा प्रतिनिधि सभा सदस्य ढकालले संघीय सरकारको पहलमा सुरु भएको यस पार्कले स्थानीय विकास, हरियाली संरक्षण र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “बिरुवा जीवनको आधार हो भन्ने मान्यता हामी सबैले आत्मसात गर्नु जरूरी छ। कोहलपुरवासीहरूले आफ्ना प्रियजनको सम्झनामा बर, पिपल, बेल, नीम लगायतका जैविक बिरुवाहरू रोपेर स्मृतिको स्वरूप दिन सक्नेछन्।”
उहाँले तोकिएको समयभित्र गुणस्तरीय निर्माण सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, संघीय, प्रदेश तथा स्थानीय सरकारबीचको समन्वयमा परियोजना अगाडि बढ्ने जानकारी दिनुभयो।
कोहलपुर नगरपालिकाकी उपप्रमुख सङ्गिता सुवेदीले जैविक पार्क कोहलपुरको पर्यटन तथा सांस्कृतिक विकासका लागि महत्वपूर्ण आधार बन्ने बताउनुभयो। उहाँले भन्नुभयो, “पार्कले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै कोहलपुरको पहिचानसमेत बलियो बनाउने विश्वास लिएको छु।”
त्यसैगरी, वडा नं. ११ की अध्यक्ष कल्पना शर्माले पार्कभित्र शुद्ध खानेपानी, शौचालय, दुबो र विविध प्रजातिका फूल बिरुवाहरू रोपिने जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पार्क निर्माण भएपछि यहाँको पर्यटन व्यवसायमा नयाँ उचाइ आउँछ भन्ने विश्वास लिएको छु।”
शिलान्यास कार्यक्रममा स्थानीय पर्यटन तथा होटल व्यवसायी, जनप्रतिनिधिहरू र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।