अनि हामी मास्क लाएर सुत्यौं…

हुम्ला डायरी- ४


  • कमलराज लम्साल

  • अदानचुलीमा अभिमुखीकरण सकेर हामीलाई ताँजाकोट जानुपर्ने थियो। अदानचुलीको चुचुरो काटेपछि दक्षिणमा ताँजाकोट आउँथ्यो। पहिला पहिला मानिसहरू माथिबाटै हिँड्थे। अब मोटर बाटो बनेपछि भने कर्णाली तिरैतिर सलल। हिँड्न कसले दुःख गरोस्!

    हामीले रिजर्भ गरेको जीप पनि त्यही बाटो दक्षिण पश्चिम हानियो। कर्णालीको किनार भएर बग्दा आँखामा थुप्रै दृश्य खिच्यौं। खिचिक खिचिक।

    अदानचुलीमा गाउँपालिका अध्यक्षले हाम्रो खानपान र बसोबासको बन्दोवस्त मिलाए। गाउँपालिकाकै इञ्जिनियरले हामीलाई नरमाइलो हुनै दिएनन्। फुर्सदमा साथ दिए। गाउँठाउँ देखाए। पहाडमा विकासका बेदना बुझाए।

    टिकाराम सरको पेटले भने रातो चामलको भात र चौंरीको घ्यू सहन सकेन।

    श्रीनगरमा हामी एउटा घरबाट छिरेर अर्को घरमा निस्किँदै गाउँ डुल्यौं। सिस्नो लगाएर स्कुल पठाउँदै गरेको बालकका अभिभावकलाई त्यसो नगर्न भन्यौं। मन्दिर भएको ठूलो ढुंगोमा चढ्न नसकेपछि खुइय्य गर्दै गाउँ हेर्‍यौं।

    देख्यौं– जस्ता पाताले छाएका घर संख्या विस्तारै बढ्दै थिए। घोडा चढेर टाढाबाट वडाध्यक्ष कार्यक्रममा सहभागी हुन हामीतिरै आउँदै थिए।

    हामी ताँजाकोट पुग्दा दिउँसोको १२ बजेको हुँदो हो। पुग्ने बाटो राम्रो भए पनि बस्तीमा पहिरोको जोखिम थियो। हामी हिमाली यात्रामा निस्केदेखि लगातार पानी परेको थियो। यस्तो पानीले पहिरो खस्ने डर हुन्थ्यो।

    गाउँपालिकाको कार्यालय भनेर बोर्ड राखेको घर हेर्दै भर नलाग्दो थियो। त्यसको माथिल्लो तलाबाट तलतिर हेर्दा बरू कार्यक्रम कतै चउरमा गर्न पाए हुन्थ्यो जस्तो लागेको थियो। चउर पनि कहाँ थियो र? सबैतिर भिरालो।

    गाउँपालिकाको भवनसँगै जोडिएर तलपट्टी मोटरबाटो थियो। बाटो खन्दा जग पक्कै हल्लिएको होला। त्यसमाथि लगातारको वर्षाले माटो कमल्याएको थियो। अध्यक्ष र उपाध्यक्षको कक्ष गत साउनमा आएको पहिरोले लडाएको रे। मेरो मन त्यसै त्यसै डराएको थियो।

    पहिरोपछि कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूले छप्रेलाका पीडितलाई भेटेका रहेछन्। पीडितलाई घर बनाएर वस्ती सार्ने बाचा गरे रे। गाउँलेले भनेका। थापा गाउँ विशेष जोखिममा थियो। हामी पैदलै रामा पुग्दा मोटर बाटोमै घर खस्छन् कि जस्तो देखिन्थ्यो। छप्रेला माथितिर हेर्दा पहाडै खस्छ कि जस्तो हुन्थ्यो।

    दिउँसोको काम सकेर हामी घुम्न निस्कियौं। गाउँमा जीवन अझै कठिन रहेको सजिलै देख्न सकिन्थ्यो। महिलाहरू ओखलमा धान कुट्दै थिए। घाँस-दाउरा गर्न भीरमा जानुपर्थ्यो। भीरको केही भर थिएन।

    गर्मीको समय भए पनि पानी परेकाले चिसो थियो। केटाकेटी चिसोमा पातलो लुगामै खेलेका देखिन्थे। उमेर नपुग्दै बिहे गरेका महिलाको काखमा बच्चा देखिन्थे। खेतीयोग्य जमिन कम थियो। खेती गर्न पनि सजिलो कहाँ थियो र? स–साना बारी। माटोभन्दा ढुंगा बढी। त्यसैमा पाखुरा बजारेर जीवन निर्वाह गर्न कम्ता कठिन होला? सरकार सम्झेर रिस उठ्थ्यो।

    त्यसो त सरकार ताँजाकोटमा पनि थियो। स्थानीय सरकार। स्थानीय सरकारकै नेतृत्वमा गाउँगाउँमा मोटर बाटो पुगेको थियो। मोटरबाटोमै तन्नेरीहरू भलिबल खेलिरहेका थिए। गाउँमा कसैले साइकल ल्याएको रहेछ। पंचर भएको साइकलका पछाडि थुप्रै केटाकेटी दगुरेको दृश्य देखियो।

    केही क्षण मात्रै अवलोकन गर्दा पनि जनताको जीवन सहज बनाउन सरकारले गर्नुपर्ने कामको लामै सूची बनाउन सकिन्थ्यो। तर काम गर्न स्रोतसाधन चाहिन्छ। मन चाहिन्छ। सरकार चलाउनेको मनमा को पस्न सक्छ र?

    किन-किन हाम्रा धेरै गाउँमा मान्छेको मन अडिन सकेको छैन। मन अडिन अवसर चाहिन्छ। हो, सरकारले यही अवसरको सिर्जना गर्ने हो।

    ताँजाकोटमा त्यस रात हामीलाई होटलमा राखिएको थियो। होटल बाहिर कुनै बोर्ड थिएन। त्यहाँको सबभन्दा राम्रो होटल रे। गाउँपालिकाको पछाडिबाट थोरै उक्लेपछि आउँथ्यो। होटल पनि भिरालोमै थियो। अगाडि आँगन थिएन। सिमसिम पानी परेकै थियो। हामीले झोला बिसायौं र बेलुकाको खाना खायौं।

    खाना खाएर सुत्न गयौं। सुत्न त गयौं तर सुत्नै सकिएन। विस्तरामा ओढ्ने-ओच्छ्याउने सबै धूलाम्मे रहेछ। मैलो उस्तै। धूलो झारेर पनि कहीँ जानेवाला थिएन। किनकि सबैतिर धूलो थियो। धूलोसँग नजिस्किँदै राम्रो हुन्थ्यो।

    दिउँसो यसो हेर्दा गाउँपालिकाको बोर्डमा ‘मैला, हुम्ला’ लेखिएको देखेको थिएँ। हामीलाई ‘मैला’ मै सुत्नुपर्ने बाध्यता थियो। सुत्ने भनेको आरामका लागि हो। आराम शरीर र मन दुवैलाई चाहिन्छ। तर जसै सुत्न बल गर्‍यौं।

    आराम हरायो। मनले निदाउनै मानेन। हामीलाई हिमाली यात्रामा यस्तो कहिल्यै भएको थिएन। गुनासो गर्नैपर्ने गरी कहीँ पनि सुतिएन। अवस्था अनुसारको व्यवस्था ‘ठिकै’ थियो। गर्नकै लागि गुनासो गरिएन पनि।

    बत्ती नभएकाले कोठा अँध्यारो थियो। कतै झ्याल पनि थिएन। ढोका बन्द गरेपछि गुम्म। हिमालतिर तल्लो तलामा पशु राख्न यस्ता कोठा बनाइन्छ। हामी पनि तल्लै तलामा थियौं। सायद माथिल्लो तलाका कोठा राम्रा थिए कि? सबै कोठा प्याक भएकाले हामीलाई त्यो कोठा दिइएको थियो।

    हामीसँग विकल्प केही थिएन। विकल्प नभएपछि मान्छे निरीह बन्दो रहेछ। निरीह बनेका हामी दुवै जनाले झोलाबाट झिकेर ज्याकेट लगायौं। सुत्नुअघि खोलेको पाइन्ट फेरि लगायौं। मोजा लगायौं। टोपी लगायौं। कोरोना महामारीका कारण झोलामा मास्क बोकिएकै थियो। मास्क झिक्यौं र त्यो पनि लगायौं।

    ‘भोलि बरू शिवजीको घरमा बास माग्नुपर्छ है’ भनेर कुरा गर्दै थियौं। शिवजी अर्थात् तत्कालीन जिल्ला विकास समिति हुम्लाका सदस्य। स्थानीयहरू उनलाई क्षेत्रपाल भन्थे। रामा गाउँमा बिहे भोज खाएर फर्किँदै गर्दा बेलुकीपख उनले हामीलाई देखेका रहेछन्।

    हामी बसेको नजिकै आएर कसैले सोधेको थियो–हजुरहरू को हो?

    गाउँलेले हामीलाई ‘पुलिस हौ कि’ भनेका थिए।

    रामाबाट छप्रेला फर्किँदा हामी तिनै शिवजीसँग कुरा गर्दै आएका थियौं। उनले ‘बास बस्न अप्ठ्यारो भए मेरै घर आउनू’ भनेका थिए। राति घर खोज्दै जाने आँट पनि आएन। त्यसपछि कतिबेला निदाइयो थाहै भएन।

    वैशाख ११ गते हामी हुम्लाको ताँजाकोटमा थियौं। ताँजाकोट पुगेपछि मात्रै हामीले घरतिर राम्रोसँग कुरा गर्न पाएका थियौं। त्यहाँ सोलारबाट इन्टरनेट राम्रो चल्थ्यो। फोन र नेट चलेपछि हामीलाई पनि लोकतन्त्र आएजस्तै लागेको थियो।

    सौभाग्य शाहले कतै लेखेको पढेको थिएँ– सात सालमा प्रजातन्त्र आएको खबर जुम्लामा आठ सालमा मात्रै पुगेको थियो रे।

    हुन पनि सञ्चार प्रविधिको यतिविधि विकास उतिबेला कहाँ थियो र? हामी भने हुम्लामै बसेर लोकतन्त्र दिवसको अवसरमा भएका विभिन्न कार्यक्रम लाइभ हेर्दै थियौं।

    सिमसिम पानी परिरहेकै थियो। हामी गाउँपालिकाको कार्यालयको बार्दलीबाट बाहिर हेर्दै धेरैबेर बस्यौं। अन्त जाने ठाउँ पनि थिएन। टाढा जान सकिन्थेन। वरपर घुमिसकिएको थियो। त्यहाँबाट सिरूपाटा, मदना, गल्लावाडा लगायत पारिला गाउँ देखिन्थे। पूर्वतर्फ तल कर्णाली। कर्णालीको माथि शिरमा सोरूको अग्लो पहाड। पहाडको चुलीमा हिउँ। हाम्रा आँखा धेरैपटक यताउता डुले।

    हिजो हामीलाई अदानचुलीबाट ताँजाकोटसम्म ल्याउन गाउँपालिकाको गाडी जाने कुरा थियो। तर चालक घरबाट आउँदा ढिला हुने भएपछि गाडी नआउने भयो। उनको घर मुगुको खत्याड रहेछ। हामी अदानचुलीदेखि जीप रिजर्भ गरेर ताँजाकोट आउँदै थियौं।

    दोमुखमा हुम्ला कर्णाली र मुगु कर्णाली मिसिएको थियो। मुगु कर्णाली अलि धमिलो। दुई नदी मिसिए पनि धेरै तलसम्म दुइटैको पानी छुट्टिन्थ्यो। हामीले नेकपा एकीकरणको प्रसंग झिक्यौं। पार्टी एक भए पनि नेताका आचरण अलग अलग। मिल्नै नसक्ने। केहीबेरमा पानी घोलियो।

    पुइमा कटेपछि मूलबाटो छाडेर उकालो चढ्नेबेला गाउँपालिकाको गाडी तल झर्दै थियो। साल नझरेपछि सुत्केरीको उपचार गर्न नेपालगञ्ज लैजान लागेका रहेछन्। गाडीमा बाजुराको कोल्टीसम्म। त्यसपछि जहाजमा नेपालगञ्ज। संयोगले गाडी कोल्टी पुग्ने र जहाज आउने सँगै भएछ। सुत्केरीलाई नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल लगेछन्। अस्पताल पुगेको केहीबेरमै उनको ज्यान गएछ।

    हिजै यो खबर सुन्दा हामीलाई नराम्रो लागेको थियो। आज पनि मान्छेहरूको कुरा गर्ने विषय यही थियो। केही मान्छे कार्यालयको तल सडकमा उनैको कुरा गर्दै थिए। उनी अर्थात् फूल्टौरा नेपाली। हामीले ती कुरा ध्यान दिएर सुन्यौं।

    फूल्टौराको घर ताँजाकोट ३ गाडापानी हो। पति काशीलाल नेपाली लुगा सिउने काम गर्छन्। फूल्टौरा उनकी दोस्रो श्रीमती हुन्। पहिलो श्रीमतीबाट दुई सन्तान छन्। कुल मिलाएर पाँच जना। तीन छोरा, दुई छोरी। हिजो राती जन्मने छोरी थिइन्। बच्चा जन्मेपछि धेरैबेर साल खसेन। उनलाई राति नै स्वास्थ्य संस्था पुर्‍याइयो। त्यहाँ खासै ‘राम्रो’ उपचार हुन सकेन। स्वास्थ्यकर्मीकै सिफारिसमा उनलाई नेपालगञ्ज लगिएको थियो।

    प्रसूति निकै पीडादायी परिघटना हो। भनिन्छ– बच्चा जन्माउँदा महिलाले मरेर बाँच्नुपर्छ। त्यसको साक्षी मै थिएँ। ७६ साल साउनमा छोरी मानवी जन्मिँदा मेरी श्रीमती टीकाजीलाई पनि मर्नु भएको थियो। पाठेघरको भित्तामा कतै साल टाँसिएको रहेछ। डाक्टरले शल्यक्रिया गरेर बच्चा त निकाले। तर टीकाजीलाई धेरैबेरसम्म बाहिर निकालेनन्।

    घरीघरी सोध्न जाँदा ‘ब्लिडिङ बढी भयो’ भन्थे। रक्तश्राव नरोकिएसम्म घाउ सिलाउने कुरा पनि भएन। बीस मिनेटमा सकिने शल्यक्रियालाई एक घन्टा लागेको थियो। म कर्णाली प्रदेश अस्पतालको अपरेसन थियटरबाहिर अधैर्य थिएँ, भित्र डाक्टर पनि आत्तिएका थिए रे।

    सुत्केरी हुन नसकेर कर्णालीमा धेरै महिलाले ज्यान गुमाउनुपरेको समाचार आइरहन्छ। उद्दारका लागि सरकारले बजेट पनि छुट्याएको हुन्छ। हेलिकप्टर चार्टर गर्दा कमिसनको कुरा पनि सुनिन्छ। जे भए पनि आँखै अगाडिको उक्त घटनाले हामी मर्माहत भएका थियौं। मन अमिलो भएको थियो।

    उनीहरू भन्दै थिए– ‘बच्चालाई संस्थाले लगेछ। राम्रै भयो। विचरा पुरुषले कसरी पाल्ला?’

    म भने पितृसत्तात्मक समाजले पुरुषलाई बच्चा पाल्नै नसक्ने गरी निर्माण गरेकोमा थप चिन्तित बनेँ।

    हुन पनि हामीले छोरो हुर्काउँदा स्याहार सुसारका तरिका कहिल्यै सिकाउँदैनौं। छोरीले गुडियालाई खाना खुवाउँदा, लुगा लगाइदिँदा, नुहाइदिँदा भन्छौं–आखिर छोरी न परी।

    खोज्दै जाने हो भने हामीमा थुप्रै खोट भेटिन सक्छन्। यद्यपि लोकतन्त्रको चुरो कुरो हो–समानता!

    सेताेपाटी बाट

  • २३ जेष्ठ २०७८, आईतवार ११:२८ प्रकाशित

  • Nabintech