२८, चैत्र २०८१
बाँके ।नेपालगञ्ज उपमहानगरपालिकाले विपदको जोखिममा रहेका नागरिकलाई राहत प्रदान गर्न लक्षित गर्दै ऐतिहासिक कदमको सुरुवात गरेको छ। उपमहानगरपालिकाले वडा नम्बर ३ र ७ मा आवासीय घर बीमा कार्यक्रम सुरु गरेको हो।
उपमहानगर प्रमुख प्रशान्त विष्टले एक कार्यक्रमबीच बीमित घरधुरीलाई बीमा प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरेका थिए। उनले बीमालाई विपद व्यवस्थापनको एक सशक्त माध्यम भन्दै विपदपछि नागरिकमा थप आर्थिक बोझ नपरोस् भनेर यो कार्यक्रम ल्याइएको जानकारी दिए।
“भूकम्प, बाढी, डुबान र आगलागीजस्ता आकस्मिक विपदले ठुलो क्षति पुर्याउन सक्छ, बीमाले त्यसबेलाको राहत सुनिश्चित गर्छ,” नगर प्रमुख विष्टले भने, “न्यून आय भएका परिवारलाई लक्षित गरी सुरु गरिएको यो कार्यक्रम नगरको पहिलो चरणको परीक्षण हो।”
पहिलो चरणमा वडा नम्बर ३ का १०९ र वडा नम्बर ७ का ४२ गरी १५१ घरधुरीलाई बीमा गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार यी दुई वडामा झण्डै ७५० घर छन्, जहाँ घरको घनत्व उच्च, बाटो साँघुरा, र घर पुराना तथा जीर्ण छन्।
विपद व्यवस्थापन समितिका संयोजक समीरप्रताप सिंहका अनुसार १५ लाख रुपैयाँसम्मको घर बीमा गर्दा आवश्यक प्रिमियम उपमहानगरपालिकाले तिर्नेछ भने सोभन्दा माथिको बीमाका लागि घरधनीले आफैं प्रिमियम तिर्नुपर्नेछ।
१५ लाखको बीमा गर्दा जम्मा ५८४ रुपैयाँ प्रिमियम लाग्नेछ। कार्यक्रमका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ। कम्पनीका प्रबन्धक नवीन शर्मा पौडेलले घरमा मृत्यु, घाइते वा क्षतिको अवस्थाअनुसार फरक–फरक बीमा सुविधा उपलब्ध हुने जानकारी दिए।
आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जोखिमयुक्त क्षेत्रमा कार्यक्रम सुरु गर्नुको मुख्य कारण घरको घनत्व, जीर्ण अवस्था र साँघुरा सडक रहेको बताए।
कार्यक्रममा नगर प्रवक्ता प्रमोद रिजाल, विपद फोकल पर्सन दिपेन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो।