२९, चैत्र २०८१
बाँके। नेपाल रेडक्रस सोसाइटी खजुरा उपशाखाले नयाँ वर्ष २०८२ को शुभकामनासहित आफ्नो बार्षिक क्यालेन्डर विमोचन गरेको छ। बिहीबार खजुरामा एक औपचारिक समारोहको आयोजना गर्दै क्यालेन्डर सार्वजनिक गरिएको हो।
कार्यक्रम खजुरा रेडक्रसका सभापति जिवनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्री प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले नयाँ वर्षले सबैमा नयाँ सोच, सकारात्मक ऊर्जा र उपलब्धिमूलक कार्य गर्न प्रेरणा देओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।
सभापति सापकोटाले हालैको दुई दिन लगातार परेको हावाहुरी, चट्याङ्ग र वर्षाका कारण भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, रेडक्रस युवा सर्कल खजुराका सभापति खगेन्द्र दाहालले नयाँ वर्षका लागि योजना बनाएर समन्वयसाथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै, विपद्को बेला सबैलाई हातेमालो गर्दै उद्धार तथा राहत कार्यमा लाग्न आग्रह गर्नुभयो।
उक्त कार्यक्रममा रेडक्रस खजुराका पदाधिकारी, सल्लाहकार, विशिष्ट सदस्य, युवा सर्कलका प्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत रेडक्रसले समुदायप्रति आफ्नो प्रतिबद्धता र आगामी वर्षमा गर्ने योजनाहरूलाई प्रस्तुत गरेको छ।