भीषण हावाहुरीले नेपालगन्जमा विद्युत सेवा अवरुद्ध, चार सर्किट लाइन बन्द

  • नमस्ते कर्णाली

  • २८, चैत्र २०८१
    बाँके ।गए राति करिब १० बजे आएको भीषण हावाहुरीका कारण नेपालगन्जसहित आसपासका क्षेत्रहरूमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। हावाहुरीले वितरण तथा प्रसारण लाइनमा ठुलो क्षति पु¥याएको छ भने ३३ केभीए लाइनमा समेत समस्या देखिएको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ।

    वितरण केन्द्रका प्रमुख ई. जगन्नाथ लामिछानेका अनुसार, हावाहुरीका कारण नेपालगन्जको विभिन्न स्थानमा बिजुलीका पोलहरू ढलेका छन्, दर्जनौँ स्थानमा तारहरू चुँडिएका छन् र कतिपय ठाउँमा रुख ढल्दा वा रुखका हाँगाहरू तारमाथि खस्दा समस्या झन जटिल बनेको छ।

    “नेपालगन्ज क्षेत्रबाट प्रसारण हुने चार वटै सर्किटको लाइन बन्द अवस्थामा छन्,” लामिछानेले बताउनुभयो, “३३ केभीए लाइन मर्मत कार्य तीव्र गतिमा भइरहेको छ र समस्या समाधान हुने बित्तिकै लाइन पुनः सञ्चालनमा ल्याइनेछ।”

    लाइन बन्द हुँदा नेपालगन्जसँगै डुडुवा, राप्ती सोनारी र नरैनापुर गाउँपालिकाहरू अन्धकारमा गएका छन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहका अनुसार, विद्युत् सेवा अवरुद्ध भएपछि त्यहाँ सञ्चार सेवासमेत ठप्प भएको छ। यता, नेपालगन्जमा खानेपानी संस्थानले वितरण गर्ने पानी नआएपछि स्थानीयहरू दोहोरो समस्यामा परेका छन्।

    प्राधिकरणका अनुसार यथासिघ्र मर्मत गरेर विद्युत सेवा पुनः सञ्चालन गर्ने प्रयास भैरहेको छ।

     

     

  • २७ चैत्र २०८१, बिहीबार ११:३७ प्रकाशित

  • Nabintech