२६, चैत्र २०८१
बाँके ।लुम्बिनी प्रदेशको ३ हजार १ सय ८१ दशमलव २० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ। प्रदेशका १२ जिल्लाका १ सय ९३ स्थानमा फैलिएको डढेलोमा परेर एक व्यक्तिको मृत्यु भएको र २ जना घाइते भएका छन्। वन निर्देशनालयका अनुसार, बिरुवा जलेर नष्ट भएका छन्।
जिल्लागत रुपमा सबैभन्दा बढी रुकुम पूर्वमा डढेलो लागेको छ, जहाँ १ हजार १ सय २० हेक्टर वन क्षेत्र प्रभावित भएको छ। यहाँ ६ स्थानमा आगो लागेको र ३ हजार २ सय ७६ बोटबिरुवा जलेर नष्ट भएका छन्। आगो निभाउने क्रममा ढुङ्गाले लागेर एक जना घाइते भएका छन्।
वन निर्देशनालयका सूचना अधिकारी डिलाराम पौडेलका अनुसार, वनमा आगलागीको प्रमुख कारण मानवजन्य त्रुटि हो। चोरी सिकारी गर्ने व्यक्तिहरूबाट अधिक आगलागी भएको र यसले जंगलमा फैलिएको पाइन्छ। उहाँले भन्नुभयो, “मूलतः जङ्गलमा चोरी सिकारी गर्नेहरूले आगो बाल्ने र त्यहीँबाट वनमा फैलिने गरेको पाइन्छ।”
वनमा आगलागीको घटनाले वन र जैविक विविधता संकटमा पार्दै मानव र वन्यजन्तु दुवैको जीवनलाई असर पुर्याएको छ।