२६, चैत्र २०८१
बाँके । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय फड्को मारेको जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार हालसम्म प्रदेशभर ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन्। पक्की नहर, कुलो र अन्य संरचनाको विस्तारसँगै सिँचाइ पहुँच उल्लेख्य रूपमा वृद्धि भएको छ।
प्रदेशमा हालसम्म ८३२ किलोमिटर पक्की नहर निर्माण सम्पन्न गरिनुका साथै लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत १०७ आयोजना सञ्चालनमा छन्, जसमा चालु आर्थिक वर्षमा दुई नयाँ योजना थपिएका छन्। स्यालो तथा डिप ट्युबवेलको प्रयोगमार्फत सिँचाइ विस्तारलाई अझ सशक्त बनाइएको छ। हालसम्म ७५९ वटा स्यालो ट्युबवेल र २३२ वटा डिप ट्युबवेल जडान गरिएको मन्त्रालयले जनाएको छ।
सिँचाइ प्रयोजनका लागि ३८६ वटा पम्प हाउस सञ्चालनमा छन् भने ८२ आयोजना विद्युतीकरण भइसकेका छन्। यस्तै, ७४७ किलोमिटर पाइपलाइन बिछ्याएर थप २१ हजार ५५ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याइएको छ। साथै, ७३ हजार ७६८ हेक्टर क्षेत्रको सिँचाइ संरचना सुदृढीकरण गरिएको छ।
नदी नियन्त्रणतर्फ पनि उल्लेखनीय काम भएको मन्त्रालयले जनाएको छ। हालसम्म २११ किलोमिटर तटबन्ध निर्माण भई २,६३२ हेक्टर जमिन उकासिएको छ भने १४,११९ हेक्टर जमिन र १७,४९८ घरधुरी सुरक्षित भएका छन्।
हाल लुम्बिनी प्रदेशको ५५ प्रतिशत भू–भागमा सिँचाइ सुविधा पुगेको मन्त्रालयले जनाएको छ। यद्यपि कुल सिँचायोग्य जमिनमध्ये मात्र ३३ प्रतिशत भू–भागमा बाह्रै महिना सिँचाइ सेवा उपलब्ध रहेको उल्लेख गरिएको छ।
मन्त्रालयले कृषिमा उत्पादन वृद्धि, खाद्य सुरक्षाको स्थायित्व, वातावरणीय सन्तुलन र दीर्घकालीन समृद्धिको उद्देश्यसहित सिँचाइ पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ। प्रमुख योजनाका रूपमा दाङ जिल्लाको प्रगन्ना सिँचाइ योजना र कपिलवस्तुको बाणगङ्गा सिँचाइ योजना सञ्चालनमा छन्, जसका लागि छुट्टाछुट्टै व्यवस्थापन कार्यालय समेत स्थापना गरिएको छ।
प्रदेश सरकारले भविष्यमा अझ बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउँदै समृद्ध कृषि प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ।