बालविवाह अन्त्यका लागि थारु आयोगको ६ बुँदे प्रतिबद्धता:गुलरियामा बरघरहरूको भूमिका सम्बन्धी बृहत् अन्तरक्रिया सम्पन्न

  • नमस्ते कर्णाली

  • २४, चैत्र २०८१
    बर्दिया । बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि थारु आयोगले ६ बुँदे प्रतिबद्धता घोषणा गर्दै गुलरियामा ‘बरघरहरूको भूमिका’ विषयक बृहत् अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

    थारु आयोगले प्लान ईन्टरनेसनल नेपालसँगको सहकार्य र बाँके युनेस्को क्लब तथा अन्य संघसंस्थाहरूको समन्वयमा आयोजना गरेको कार्यक्रममा बालविवाहको वर्तमान अवस्था, न्यूनीकरणका उपाय र बरघरहरूको भूमिकामाथि गहन छलफल गरिएको थियो।

    कार्यक्रमको समापनमा आयोगले घोषणा गरेको ६ बुँदे प्रतिबद्धतामा—
    बालविवाहलाई कुनै हालतमा स्वीकार नगर्ने,
    बालविवाहविरुद्ध व्यापक जनचेतना अभिवृद्धि गर्ने,
    बालविवाहविरुद्धका नीति तथा नियमहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पैरवी गर्ने,
    बरघर ऐनमा बालविवाह न्यूनीकरण सम्बन्धी विषय समावेश गरी बरघरलाई अधिकारसम्पन्न बनाउने,
    बरघरहरूले अभियानमार्फत बालविवाहविरुद्ध कार्यक्रम सञ्चालन गर्ने,

    विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम राख्न निरन्तर वकालत गर्ने प्रतिबद्धता गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले जानकारी दिनुभयो।

    थारु आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले बालविवाह अन्त्यका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक योजना, नीति निर्माण र बजेट सुनिश्चितताका लागि आयोगले निरन्तर पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले बालविवाह रोकथाममा बरघरहरूको सक्रिय भूमिका निर्णायक हुने उल्लेख गर्नुभयो।

    कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले बालविवाह न्यूनीकरणका लागि नीति निर्माण र बजेट व्यवस्थापनमा प्रदेश सरकारलाई जिम्मेवार र उत्तरदायी बनाउने प्रतिबद्धता जनाउनुभयो।

    थारु आयोगका सदस्य भोलाराम चौधरीले बर्दियाको बालविवाह सम्बन्धी तथ्यांक प्रस्तुत गर्दै सामूहिक प्रयासबाट मात्र यसको समाधान सम्भव हुने धारणा राख्नुभयो।

    प्लान ईन्टरनेशनल नेपालका नीति तथा पैरवी व्यवस्थापक ईरशाद अन्सारीले बालविवाह न्यूनीकरणमा प्लानले विगतदेखि सहकार्य गर्दै आएको र आगामी दिनमा बरघरहरूको भूमिकालाई अझ प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो।

    कार्यक्रममा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले प्रस्तुतिकरण गर्दै बर्दियामा पाँच वर्षअघिसम्म ४६५ बालविवाहका घटना हुने गरेकोमा हाल घटेर २१५ मा झरेको जानकारी दिनुभयो।

    खुला छलफलमा सहभागीहरूले बालविवाह न्यूनीकरणमा स्थानीय सरकार, सामाजिक संघसंस्थाहरू र विशेषगरी बरघरहरूको सक्रियताले उल्लेखनीय भूमिका खेलेको भन्दै निरन्तर पहल आवश्यक रहेको धारणा राखेका थिए।

     

  • २३ चैत्र २०८१, आईतवार १२:१० प्रकाशित

  • Nabintech