१२, चैत्र २०८१
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादी निकट जनसंगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको प्रदर्शनमा युवा संघ, अनेरास्ववियू लगायत जनसंगठनका नेताहरूले सहभागी जनाएका थिए। प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै सरकारविरुद्ध नाराबाजी गरेका छन्।
घिसिङलाई हटाएको निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि असहमति जनाएका छन्। यस्तै, सत्तारूढ दलभित्रै पनि सरकारको निर्णयलाई लिएर चर्को असन्तोष देखिएको छ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सार्वजनिक रूपमा सरकारको आलोचना गरेका छन्।
सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङलाई हटाई हितेन्द्रदेव शाक्यलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। यस निर्णयको चौतर्फी आलोचना भइरहेको छ।
यसैबीच, माओवादी केन्द्र निकट विद्यार्थी तथा अन्य जनसंगठनहरूले पनि विरोध कार्यक्रमको तयारी गरिरहेका छन्। विरोध प्रदर्शनलाई व्यवस्थापन गर्न सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।