बाँकेमा फितलो सुरक्षा व्यवस्थाः मोटरसाइकल चोरीको खुला ताण्डव, पीडितले आफैं अनुसन्धान गर्नुपर्ने बाध्यता

  • नमस्ते कर्णाली

  • २, चैत २०८१
    बाँके ।बाँकेको कोहलपुर नगरपालिका-११ निवासी कपिल शाह को मोटरसाइकल २०८१ फागुन ५ गते चोरी भए पनि प्रहरीले हालसम्म दोषीलाई पक्राउ गर्न सकेको छैन। झन्, शाहले आफ्नो मोटरसाइकलका केही पार्ट्स अर्को मोटरसाइकलमा प्रयोग भएको देखेपछि पनि कानुनी कारबाही अघि नबढ्नु प्रशासनको लापरबाहीको स्पष्ट संकेत भएको बताउँछन्।

    शाह आफ्ना जिजुबुवाको मलामीमा राप्ती सिधनिया घाट गएका बेला दिउँसो ३ बजेतिर उनको पल्सर २२० (भे ११ प १३८९) चोरी भएको थियो। चोरीपछि प्रहरीमा उजुरी दिए पनि अनुसन्धानमा ढिलाइ भइरहेको उनको गुनासो छ।

    “मेरो मोटरसाइकलका पाटपुर्जा चोरीमा संलग्न व्यक्तिले पल्सर लु ९५ प ४२६१ नम्बरको बाइकमा प्रयोग गरिरहेको अवस्थामा आफैंले फेला पारेर प्रहरीलाई बुझाएँ। तर, अनुसन्धान अघि बढिरहेको छैन। सिसी क्यामेरा फुटेज हेर्नसमेत ढिलाइ गरिँदैछ,” शाह भन्छन्।

    बाँकेमा पछिल्ला वर्षहरूमा सवारी चोरीका घटनामा तीव्र वृद्धि भएको छ। व्यवसायीहरू र सर्वसाधारणले चोरी भएका बाइकहरू प्रायः सीमावर्ती क्षेत्रमा लगेर बिक्री गरिन्छन् भन्ने गुनासो गरिरहेका छन्।

    “नरैनापुर क्षेत्रमा झण्डै ९५% भारतीय नम्बर प्लेट भएका बाइक सञ्चालनमा छन्, जसले चोरीको घटनालाई झनै बढावा दिएको छ। चोरीका बाइक खुल्ला रूपमा भारतबाट नेपाल भित्रिने, चोरीका सवारी बिक्री हुने क्रम रोकिएको छैन। तर, प्रशासन मौन छ,” शाह बताउँछन्।

     

    शाहले सीमावर्ती क्षेत्रमा कडाइ नगर्दा चोरीका घटना रोक्न नसकिने बताउँदै थपे, “नेपालगञ्ज र कोहलपुरमा मात्र चेकिङ गरेर हुँदैन, नरैनापुरतिर कडा निगरानी हुनुपर्छ। चोरीका सवारी साधनहरू बेरोकटोक सञ्चालन हुँदा सरकारलाई राजस्व घाटा समेत भइरहेको छ।”

    “यदि पीडितले आफैं खोज्नुपर्छ भने प्रहरी प्रशासन किन चाहियो? हजारभन्दा बढी अवैध सवारीसाधन बाँकेमा खुल्ला रूपमा चलिरहेका छन्। चोरी भएका बाइक पनि तीमध्ये कतिपय हुन सक्छन्,” शाह भन्छन्।

    यस विषयमा बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्की भन्छन्, “हामीले विभिन्न समयमा चोरी भएका केही बाइक र स्कुटर फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइसकेका छौँ। शाहको बाइक चोरी गर्ने समूहको खोजी जारी छ। छिट्टै समाधान हुन्छ।”

    तर, पीडित शाह भने प्रहरीको अनुसन्धान प्रक्रियाबाट असन्तुष्ट छन्। “यदि प्रहरी प्रशासनले गम्भीर रूपमा अनुसन्धान गरेमा मेरो बाइक भेट्न गाह्रो पर्ने थिएन। यसरी ढिलाइ हुनु आफैंमा कमजोरीको संकेत हो।”

    बाँकेमा चोरीका घटनामा वृद्धि भएसँगै नागरिकहरूले सवारी सुरक्षामा ध्यान दिन प्रशासनलाई आग्रह गरेका छन्। यदि शीघ्र सुधार नभएमा चोरीका घटनाहरू झन् बढ्ने जोखिम रहेको उनीहरूको भनाइ छ। प्रहरीको निष्क्रियता जारी रहे, अपराधीहरू झन् साहसी बन्दै जाने र सर्वसाधारण झन् असुरक्षित बन्ने निश्चित छ।

     

  • १ चैत्र २०८१, शनिबार २१:०९ प्रकाशित

  • Nabintech