डुडुवाको जयेन्दु बाल सुधार गृहमा झडप, ६ जना घाइते

  • नमस्ते कर्णाली

  • २, चैत २०८१
    बाँके ।बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहमा झडप हुँदा ६ जना घाइते भएका छन्। बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार, झडप राति ११ बजेतिर सुरू भएको थियो।
    घटनाको खबर पाएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। प्रहरी राति डेढ बजेतिर घाइतेहरूको उद्दार गरी नेपालगञ्जको नर्सिङ होम अस्पताल पठाएको छ।
    घटनापछि सुधार गृहभित्र प्रवेश गर्न प्रहरीले प्रयास गरिरहेको छ। तर, अहिलेसम्म प्रहरीलाई भित्र जान दिइएको छैन। कति बालबन्दी भागे भन्ने यकिन छैन, तर प्रारम्भिक जानकारी अनुसार कम्तीमा दुई जना फरार भएको आशंका गरिएको छ।
    जयेन्दु बाल सुधार गृहमा हाल अढाई सय बालबन्दी रहेका छन्। पटक–पटक झडप भइरहने यस सुधार गृहमा यसअघि पनि प्रहरीमाथि आक्रमण भएको थियो। केही दिनअघि मात्रै तीन जना प्रहरीले कुटपिट सहनुपरेको थियो।
    यसअघि झडप गरिरहने केहीलाई नौबस्ता सुधार गृहमा स्थानान्तरण गरिएको थियो। तर, त्यहाँ पनि झडप भइरहने गरेको छ। केही समयअघि नौबस्ताबाट भागेका केही बालबन्दीहरू अझै फेला परेका छैनन्।
    विशेषगरी १८ वर्ष नपुगेका किशोरहरूलाई राख्न बनाइएको सुधार गृहमा २८/२९ वर्षका युवाहरूलाई पनि राखिँदा बारम्बार झडप हुने गरेको जानकारहरू बताउँछन्। सुरक्षाकर्मीले बल प्रयोग नगर्ने नीति लिएको सुधार गृह नियन्त्रणभन्दा बाहिर जाने खतरा बढ्दै गएको छ।
    यस घटनाले बाल सुधार गृहको व्यवस्थापन र सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ। प्रहरी प्रशासनले सुधार गृहको सुरक्षा सुदृढ गर्न थप उपाय अपनाउने बताएको छ।

  • १ चैत्र २०८१, शनिबार १४:०४ प्रकाशित

  • Nabintech