“होली केवल रंगको होइन, सद्भाव र एकताको पर्व हो” – प्रमुख जिल्ला अधिकारी जोशी

  • नमस्ते कर्णाली

  • २, चैत २०८१
    बाँके ।बाँके जिल्लामा होली पर्व हर्षोल्लासका साथ मनाइएको छ। जिल्लाका विभिन्न स्थानहरूमा होली मिलन कार्यक्रम आयोजना गरी धुमधामका साथ रंगहरूको पर्व मनाइएको हो। नेपालगञ्जका त्रिभुवन चोक, सेतु विक चोकलगायतका स्थानहरूमा उत्साहजनक होली कार्यक्रम सम्पन्न भए। नेपाल पत्रकार महासंघ बाँकेको कार्यालय परिसरमा पनि जिल्लाका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा विशेष कार्यक्रम गरिएको थियो।

    यसै क्रममा नेपाल प्रेस युनियनले आफ्नो कार्यालय अगाडि पत्रकारहरूबीच रंगहरूको पर्वको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गर्यो। नेपाल पत्रकार महासंघ बाँकेको होली मिलन कार्यक्रममा जिल्लाका पत्रकारहरू, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रसान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, बाँके सशस्त्र प्रहरी प्रमुख, मानव अधिकार आयोग बाँके प्रमुख लगायतका व्यक्तित्वहरू सहभागी भएका थिए।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जोशीले होली पर्व केवल रंग र उत्सवको रूपमा मात्र नभई सामाजिक सद्भाव र एकताको प्रतीक भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “होली केवल रंगको होइन, सद्भाव र एकताको पर्व हो।” यस अवसरमा उपस्थित सबैले आपसी भाइचारा कायम राख्दै शुभकामना आदान-प्रदान गर्नुभयो।

    यसैबीच, कोहलपुरमा पनि विभिन्न स्थानहरूमा होली मिलन कार्यक्रम सम्पन्न भएका छन्। एनटिभी रोड, न्युरोड खुला मैदान, गोलपार्क लगायतका स्थानहरूमा स्थानीय युवा तथा संघसंस्थाहरूको पहलमा उत्सवको आयोजना गरियो। गोलपार्क र एनटिभी रोडमा युवाहरूको सक्रिय सहभागिता देखियो भने न्युरोड खुला मैदानमा उद्योग व्यापार संघ कोहलपुर र कोहलपुर इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी समितिको संयुक्त आयोजनामा होली विशेष कार्यक्रम सम्पन्न भयो।

    उद्योग व्यापार संघ कोहलपुरका अध्यक्ष विष्णु खनालको अध्यक्षतामा आयोजित होली मिलन कार्यक्रममा विविध मनोरञ्जनात्मक तथा सांस्कृतिक गतिविधिहरू समावेश गरिएका थिए। घैंटो फोड, मट्का फोड, कुर्सी दौड लगायतका प्रतियोगिताहरूले कार्यक्रममा उत्साह थप्यो। संघका सचिव शंकर न्यौपानेका अनुसार, कुर्सी दौड प्रतियोगितामा तपेन्द्र वली विजेता र पत्रकार विद्युत्मा रैका उपविजेता भए। उनीहरूलाई क्रमशः स्पोर्ट फुटवेयर र नगद पुरस्कार प्रदान गरियो।

    यसैगरी, घैंटो फोड प्रतियोगितामा तपेन्द्र वली विजयी हुनुभएको थियो। उहाँले घैंटो फोड्दै त्यसभित्र रहेको पच्चीस पाँच सय रुपैयाँ नगद पुरस्कारस्वरूप प्राप्त गर्नुभयो। होली पर्वको अवसरमा सुदूरपश्चिमका स्थानीय बासिन्दाहरूले खुला मैदानमा देउडा गीत गाएर थप उत्साह प्रदान गरेका थिए। उनीहरूले आफ्नो संस्कृति झल्काउने परम्परागत गीतसंगीत प्रस्तुत गर्दै मनोरञ्जनका साथै आपसी भाइचारा बढाउने प्रयास गरे।

    यस वर्षको होली पर्वले बाँके जिल्लामा सामाजिक सद्भाव, एकता र उत्साहको सन्देश प्रवाह गरेको छ। रंगहरूको यो पर्वले मानिसहरूबीच आपसी सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजक तथा सहभागीहरूले बताएका छन्।

     

  • १ चैत्र २०८१, शनिबार ०७:२० प्रकाशित

  • Nabintech