कालीकोटको कायाकाँडामा भाइरल ज्वरोको प्रकोप, ८६ जना बिरामी

  • नमस्ते कर्णाली

  • २७, फाल्गुन २०८१

    कालिकोट ।कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित कायाकाँडाबासी भाइरल ज्वरोको प्रकोपले प्रभावित बनेका छन्। एकैदिन ८६ जना बिरामी फेला परेपछि नगरपालिकाले चिकित्सक टोली परिचालन गरेको छ।

    नगरपालिका स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवालका अनुसार प्रभावित बिरामीमध्ये ५३ महिला र ३३ पुरुष छन्। जिल्ला अस्पताल कालीकोटका डा. दर्शनप्रसाद पाण्डेको नेतृत्वमा खटिएको स्वास्थ्यकर्मी टोलीले प्रारम्भिक जाँच गर्दा इन्फ्लुएन्जासँग मिल्दोजुल्दो भाइरल संक्रमण देखिएको छ।

    नगरपालिकाले रोगको पहिचान गर्न सुर्खेतबाट किट मगाएको र आज स्वाब संकलन गरी परीक्षण गरिने जनाइएको छ। स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार बिरामीको संख्या बढ्न थालेपछि स्वास्थ्य शाखाले चिकित्सक खटाइदिन अनुरोध गरेको थियो। सो अनुरोधपछि जिल्ला अस्पतालबाट चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा पठाइएको हो।

    डाक्टर पाण्डेका अनुसार गाउँका कुनै पनि घर बिरामीमुक्त छैनन्। जाँच गरिएका ८६ बिरामीमध्ये १९ जना पाँच वर्षमुनिका, ५८ जना ६ देखि ५९ वर्षका, र ९ जना ६० वर्षमाथिका रहेका छन्।

    स्थानीय बासिन्दाका अनुसार सरसफाइको अभावले यस्तो समस्या बारम्बार दोहोरिएको छ। हाल प्रभावितहरू अस्पतालको निगरानीमा रहेका छन्, भने स्वास्थ्यकर्मीहरूले आवश्यक औषधि र सल्लाह दिइरहेका छन्।

  • २७ फाल्गुन २०८१, मंगलवार १३:३८ प्रकाशित

  • Nabintech