तक्षशिला एकेडेमीको आठौं वार्षिक उत्सव सम्पन्न(फोटोफिचर)

हातेमालो नगरी आधुनिक शिक्षालाई प्रभावकारी बनाउन नसकिने: नगर प्रमुख आचार्य


  • सरला सुवेदी

  • कोहलपुर–१०, बिद्यानगरमा अवस्थित तक्षशिला एकेडेमीको नवौं वार्षिक उत्सव आज भव्य रूपमा सम्पन्न भएको छ। कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद बेल्वासेले अध्यक्षता गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि आचार्यले तक्षशिला एकेडेमीले यस क्षेत्रमा शिक्षाको माध्यमबाट खेलेको भूमिकाको प्रशंसा गर्दै विद्यालयले गुणस्तरीय शिक्षाका साथै व्यवहारिक ज्ञान र सिर्जनशीलतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रविधिसँग हातेमालो नगरी आधुनिक शिक्षालाई प्रभावकारी बनाउन नसकिने भन्दै प्रतिस्पर्धात्मक युगमा सिर्जनशील शिक्षा, नैतिक शिक्षा, आधुनिक प्रविधि र जीवन उपयोगी सीपहरूलाई समेट्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

    बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसका क्याम्पस प्रमुख दानबहादुर हमालले पनि कोहलपुर क्षेत्रलाई शिक्षाको माध्यमबाट चिनाउने विद्यालयको प्रयासको सराहना गर्नुभयो। उहाँले परम्परागत शिक्षण सिकाइभन्दा माथि उठेर प्रविधिमैत्री शिक्षण पद्धति अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याउँदै विद्यार्थीलाई आत्मनिर्भर बनाउन व्यवहारिक शिक्षालाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो।

    विद्यालयका संस्थापक एवम् शैक्षिक सल्लाहकार खोपिराम वलीले तक्षशिलालाई प्रविधिमैत्री बनाउने, नवीनतम शैक्षिक विधिहरू लागू गर्ने तथा विद्यार्थीहरूको बहुपक्षीय विकासलाई प्राथमिकता दिने योजना रहेको जानकारी गराउनुभयो। अध्यक्ष विष्णु प्रसाद बेल्वासेले विद्यालयको समग्र व्यवस्थापनमा कुनै कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्दै पढाइबाहेक व्यवहारिक, सिर्जनात्मक, खोजमूलक तथा प्रयोगात्मक शिक्षालाई विद्यालयले विशेष महत्त्व दिएको बताउनुभयो।

    विद्यालयका पूर्व विद्यार्थी एवं २०८० सालको एसईई परीक्षामा बाँके जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल निलम खड्काले आफू तक्षशिला एकेडेमीकी विद्यार्थी हुन पाएकोमा गर्व लागेको बताउँदै अभिभावकहरूले यो विद्यालय रोजेको सही निर्णय भएको धारणा व्यक्त गर्नुभयो। विद्यालयले २०७३ सालमा स्थापना भएर २०७७ सालदेखि प्लस टु तह सञ्चालन गरिरहेको छ भने हाल होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयको अध्ययन गराइरहेको छ। विद्यालयमा खेलकुदका लागि पर्याप्त मैदान, स्वीमिङ पुल तथा मनोरञ्जनयुक्त वातावरण रहेको र यसलाई स्तरीय पढाइ तथा पूर्वाधारका कारण कोहलपुरकै उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने लक्ष्य रहेको अध्यक्ष बेल्वासेले बताउनुभयो।

    कार्यक्रममा विभिन्न समुदायका संस्कृति झल्काउने नृत्य, नाटक प्रस्तुत गरिएको थियो। साथै, विद्यार्थीहरुले बनाएको बिज्ञानकला सङ्गै हस्तकला र चित्रकला प्रस्तुत गरिएको थियो ।र विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने अभिभावकहरूलाई पनि सम्मान गरिएको थियो । समग्रमा, तक्षशिला एकेडेमीको वार्षिक उत्सवले गुणस्तरीय र व्यवहारिक शिक्षाका साथै जीवन उपयोगी सीपहरूमा जोड दिने सन्देश प्रवाह गरेको छ। कार्यक्रममा अतिथिहरूले आधुनिक शिक्षालाई प्रविधिमैत्री बनाउँदै विद्यार्थीहरूको समग्र विकासलाई प्राथमिकता दिनुपर्नेमा विशेष जोड दिएका थिए।

     

  • ९ फाल्गुन २०८१, शुक्रबार ०७:४८ प्रकाशित

  • Nabintech