२८, माघ २०८१
बाँके ।नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय सार्वजनिक स्थानमा फोहोर फाल्नेमाथि कडाई गर्दै आएको छ। यसैक्रममा सोमबार नेपालगन्ज वडा नम्बर १० स्थित सुनगाभा स्वास्थ्य सरोकार केन्द्रलाई कारवाही गरिएको छ।
नेपालगन्ज नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सुर्य बोगटीका अनुसार सार्वजनिक स्थानमा स्वास्थ्य तथा औषधिजन्य फोहोर फालेको पाइएपछि केन्द्रलाई २५ हजार रुपैयाँ जरिवाना तिराइएको हो।
‘हामीले फोहोर फाल्नेलाई स्पटमै बोलाएर जरिवानासँगै अब उपरान्त यस्तो कार्य नगर्ने प्रतिबद्धतासमेत गराएका छौं,’ प्रहरी निरीक्षक बोगटीले बताउनुभयो। साथै, फालिएको औषधीजन्य फोहोर उठाएर कम्पनीमा फिर्ता गर्न लगाइएको उहाँले जानकारी दिनुभयो।
नेपालगन्ज उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन २०७५ अनुसार सार्वजनिक स्थानमा फोहोर गर्ने वा फाल्ने जोसुकैलाई कारवाही गर्दै आएको छ। नगर प्रहरीले आगामी दिनमा पनि यस्तो कार्य दोहोरिए थप कडाई गर्ने चेतावनी दिएको छ।