बाँकेको बैजनाथमा झडपका क्रममा चक्कु प्रहारबाट घाइते युवकको मृत्यु

  • नमस्ते कर्णाली

  • २७, माघ २०८१
     

    बाँके ।बाँकेको बैजनाथ गाउँपालिका–८ चौफेरीस्थित पुष्पनगर टोलमा गत २५ गते राति दुई समूहबीच भएको झडपका क्रममा चक्कु प्रहारबाट घाइते भएका १८ वर्षीय दिनेश रोकायको उपचारको क्रममा आज बिहान लखनउस्थित सामरा अस्पतालमा मृत्यु भएको छ।

    स्थानीयहरूका अनुसार सो रात गाउँमा विवाह समारोह चलिरहेका बेला दुई समूहबीच विवाद उत्पन्न भएको थियो। विवाद उग्र बन्दै जाँदा झडपको अवस्था सिर्जना भएको थियो, जसक्रममा धारिलो हतियार प्रयोग भएको थियो। सोही क्रममा रोकायसहित ७ जना घाइते भएका थिए। घाइतेहरूलाई नेपालगञ्जका विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर अवस्थामा रहेका दिनेश रोकायलाई भारतको लखनउ लगिएको थियो। उपचारकै क्रममा रोकायको निधन भएको पुष्टि गरिएको छ।

    घटनापछि स्थानीयबासीले दोषीलाई कानूनी कारबाही गर्न माग गरेका छन्। साथै, उनीहरूले प्रशासनलाई छिटो अनुसन्धान गरी पीडित परिवारलाई न्याय दिलाउन आग्रह गरेका छन्। प्रहरीका अनुसार घटनामा संलग्न भएकाहरूको पहिचान गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

    यस घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने मृतकका परिवारजन शोकमा छन्। स्थानीयबासीले शान्ति सुरक्षाको प्रत्याभूति गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न अनुरोध गरेका छन्।

     

  • २७ माघ २०८१, आईतवार १३:२८ प्रकाशित

  • Nabintech