बाँकेमा किशोरीलाई एचपीभी खोप दुई चरणमा लगाइने

  • नमस्ते कर्णाली

  • २२, माघ २०८१

    बाँके। देशभर किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी) खोप लगाउने अभियान आजदेखि सुरु भएको छ। बाँके जिल्लामा यो अभियान दुई चरणमा सञ्चालन हुने भएको छ।

    पहिलो चरण अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकाका किशोरीहरूलाई खोप लगाउन थालिएको छ। स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार पहिलो चरणमा माघ २२ गतेदेखि २२ हजार ५८९ जना किशोरीलाई खोप लगाइनेछ।

    दोस्रो चरण माघ ३० गतेबाट सुरु हुनेछ, जसमा राप्तीसोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकाका १२ हजार ३६१ जना किशोरीलाई खोप दिने योजना छ।

    स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाभर ३६ हजार ९५० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। विद्यालयमा अध्ययनरत कक्षा ६ देखि माथिका तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइनेछ।

    बाँकेमा ३७८ वटा विद्यालयमा खोप केन्द्र तोकिएको छ भने विद्यालय बाहिरका किशोरीका लागि थप ८१ वटा खोप केन्द्र स्थापना गरिएको छ। यस अभियानले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।

  • २२ माघ २०८१, मंगलवार १३:०६ प्रकाशित

  • Nabintech