बाँके । कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण प्रसाद आचार्यले सरस्वती सामुदायिक वन उपभोक्ता समूहले वन, पर्यावरण र वन्यजन्तु संरक्षणका साथै उपभोक्ताको प्राकृतिक हकअधिकार र सामुदायिक विकासमा उल्लेखनीय योगदान पुर्याएको बताउनुभएको छ। बिहीबार सम्पन्न १६औँ वार्षिक साधारण सभा तथा २२औँ स्थापना दिवसका अवसरमा उनले सामुदायिक वनको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै स्थानीय सरकार र वन उपभोक्ताबीच सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगरप्रमुख आचार्यका अनुसार, सरस्वती सामुदायिक वनले कोहलपुर क्षेत्रमा प्रौढ शिक्षा सञ्चालन, ट्र्याक खोल्ने, खानेपानी व्यवस्थापन, मठमन्दिर निर्माण तथा सरक्षणका कामहरू गर्दै आएको छ। उहाँले सामुदायिक वनले फोहोर व्यवस्थापनमा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।
नगरप्रमुख आचार्यसहित अन्य अतिथिहरूले संयुक्त रूपमा कार्यक्रम स्थल राम जानकी सेकेन्डरी स्कुलको प्राङ्गणमा श्रीखण्डको बिरुवा रोपेर सभाको उद्घाटन गरेका थिए।
सरस्वती सामुदायिक वन उपभोक्ता समूह, कोहलपुर नगरपालिका वडा नम्बर १० र ११ मा फैलिएको छ, जसले वन संरक्षणदेखि सामाजिक विकाससम्मका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साधारण सभामा वन उपभोक्ता समूहका अध्यक्ष नरबहादुर मल्लले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनले उपभोक्ताहरूको आवश्यकता मध्यनजर गर्दै काठ, दाउरा वितरणदेखि वन संरक्षणका कार्यक्रमहरू अघि बढाएको जानकारी गराउनुभयो। उहाँले वनको दिगो विकासका लागि तारबार निर्माण, वृक्षारोपण, सडक स्तरोन्नति, सार्वजनिक स्थलको सुधार, घाँस काट्ने मेसिन वितरण, एकल महिलालाई निःशुल्क काठ उपलब्ध गराउनेजस्ता कार्यहरू गरिएको उल्लेख गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि तथा डिभिजन वन कार्यालय राझाका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले सामुदायिक वनको संरक्षण तथा विकासमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले स्थानीय समुदायले वनलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सक्ने सम्भावना औंल्याउँदै यसको प्रवर्द्धनका लागि सरकारी निकायहरूको सहकार्य आवश्यक रहेको बताउनुभयो।
यस्तै सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय प्रतिनिधि केशकुमारी भण्डारी वलिले पहिले पहिले घास दाउराको रुपमा मात्रै प्रयोग गर्दै आएको सामुदायिक वन अहिले जिविकोपार्जनको र आय आर्जनको स्रोत बनेको बताउदै आफ्ना छोराछोरी जसरि माया र सरक्षण गरेर वनको हेरचाह गर्न सम्पुर्ण उपभोक्तालाई आग्रह गर्नुभएको छ। उहाँले वन सरक्षणमा हामि चुकेउ भने बिदेशमा जस्तो अक्सिजन पाउन सिलिन्डर बोकेर हिड्ने दिन आउन सक्ने बताउनु भएको छ। त्यसले चोरि सिकारी नियन्त्रणसङ्गै बन जङ्गल जोगाउनु हामि सबैको दायित्व भएको बताउनु भएको छ।
सामुदायिक वनले वनका झन्झटिला ऐन–नियमका कारण केही चुनौती सामना गर्नुपरेको अध्यक्ष मल्लले बताउनुभयो। उहाँले वन उपभोक्ताहरूलाई ग्याँस चुलो वितरण, पानीका मुहान संरक्षण तथा सामाजिक कार्यहरूलाई प्राथमिकता दिने योजना रहेको उल्लेख गर्नुभयो।
अध्यक्ष मल्लले आगामी दिनमा वन संरक्षण, वृक्षारोपण तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै स्थानीय सरकारसँग सहकार्य गरेर उपभोक्ताहरूलाई थप सुविधा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रमको सञ्चालन सङ्गै बार्षिक प्रगति बिबरण र आर्थिक प्रतिबेदन र भावि योजना सचीव दुर्गा सुवेदी पौडेलले गर्नुभएको थियो ।
कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधीले सामुदायिक वनले सरक्षणका साथै सामुदायिक हितका क्षेत्रमा काम गर्दै आएकोमा प्रसंसा गरेका छन।कार्यक्रममा वन सरक्षणकर्मीदेखिका सरोकारवालाको सहभागिता रहेको थियो ।
स्थापना दिवसकै अवसर पारेर सामुदायिक वनको संरक्षण तथा वृद्धि विकासमा योगदान पुर्याएका उपभोक्ता माधवि उपाध्याय , धनिसरा क्षेत्री, मिनादेवी भुषाल, स्व. ज्ञानि चौधरी , कमलादेवी सुनार, बसन्त थारु, रतन बहादुर बुढा, हेमशेर राई, भानुभक्त शर्मा, यमुना उपाध्याय, बेल रिकाया, तिर्थ बहादुर थापा, उमानन्द उपाध्याय, सन्तोषराज पौडेल , पत्रकार असोक भण्डारी र बुद्दिजिवि नारायण प्रसाद सिग्देल , लगायतलाई सम्मान गरिएको थियो। भने सामुदायिक वनको कार्यलयबाट विभिन्न समुदायको सस्कृति झल्कने बाजागाजा र भेषभुषा सहितको र्यालि कोहलपुर नगर परिक्रमा गरिएको थियो र सास्कृतिक प्रस्तुति समेत कार्यक्रममा देखाइएको थियो।