बाजुरामा छाउगोठ भत्काउने अभियान पुनः शुरु

  • नमस्ते कर्णाली

  • १७, माघ २०८१
    बाजुरा । बाजुरामा छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ। महिनावारी हुँदा महिलाहरूलाई घरभन्दा टाढा, बाहिर छुट्टै निर्माण गरिएका छाउगोठलाई भत्काउने अभियान पुनः सुरु गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, तीन वर्षपछि यो अभियान पुनः प्रारम्भ गरिएको हो।
    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बुढीगंगा नगरपालिका अन्तर्गत छाउगोठ भत्काउने अभियानको थालनी गरिने जानकारी दिएका छन्। बुढीगंगा नगरपालिका भित्र २९ वटा छाउगोठ भेटिएका छन्, जसलाई एक हप्ता भित्र भत्काउने तयारी गरिएको छ।

    प्रहरीले छाउगोठ भत्काउनु अघि स्वयम् घरधनीलाई भत्काउनको लागि समय दिने र यदि त्यति नगरेमा प्रहरीको टोलीले भत्काउने जनाएका छन्। यस अभियानको क्रममा अनुगमन गर्ने प्रहरी र स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा छाउगोठ भत्काइने छ।
    बाजुरासहित सुदूरपश्चिम क्षेत्रमा महिला महिनावारीका समयमा घरभित्र नबस्ने र बाहिर, छाउगोठमा बस्ने परम्परागत अभ्यासले बर्सेनी दर्जनौं महिलाहरूको ज्यान जाने जोखिम बढाएको छ।
    यो अभियानले परम्परागत कुरुतिलाई अन्त्य गर्न र महिलाहरूको जीवन रक्षाका लागि महत्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएको छ।

  • १७ माघ २०८१, बिहीबार ०८:२४ प्रकाशित

  • Nabintech