१५, माघ २०८१
बाँके। उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले यस आर्थिक वर्षको अर्धवार्षिक प्रगति समिक्षामा लक्ष्य भन्दा बढी मुद्दा फर्छौट गरेको जानकारी सार्वजनिक गरेको छ। उक्त इजलासले आ.व. २०८१/०८२ को श्रावण महिना देखि पौष महिना अवधिको समिक्षामा ८०० थान भन्दा बढी मुद्दा फर्छौट गरेको जनाएको हो।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले यस वर्षको श्रावणदेखि पौष महिनासम्म कुल ७६२ थान मुद्दा फर्छौट गर्ने लक्ष्य राखेको थियो, तर ४८ थान बढी, अर्थात ८१० थान मुद्दा फर्छौट गर्न सफल भएको छ। यस क्रममा कुल १,७६७ थान मुद्दा दर्ता भएका थिए, जसमा ९५७ थान मुद्दा बाँकी रहेका छन्। बाँकी रहेका मुद्दामा ७४१ थान छ महिना भित्र, १६३ थान छ महिना देखि एक वर्ष भित्र, ४५ थान एक वर्ष देखि अठार महिना भित्र, र ८ थान अठार महिना नाघेका छन्। दुई वर्ष नाघेका मुद्दा कुनै पनि बाँकी छैनन्।
गत आ.व. मा, यस अवधिमा ४७४ थान मुद्दा फर्छौट भएका थिए र बाँकी रहेका मुद्दामा २१ थान दुई वर्ष नाघेका, ५५ थान अठार महिना नाघेका र १,४४५ थान एक वर्ष नाघेका थिए। नेपालगन्ज उच्च अदालतमा लागू औषध र जबरजस्ती करणीका मुद्दा अत्यधिक रहेको तथ्य प्रस्तुत गरिएको थियो। आगामी महिनामा एक वर्ष नाघेका सबै मुद्दाहरू फर्छौट गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, बर्दिया जिल्ला अदालतले १०५% प्रगति हासिल गरेको छ। ६३७ थान मुद्दा फर्छौट गर्दा ८७८ थान बाँकी रहेका छन्, जसमा डेढ वर्ष नाघेका २६ थान मुद्दा मात्र छन्। बाँकी मुद्दा कुनै पनि दुई वर्ष नाघेका छैनन्।
बाँके जिल्ला अदालतले ७३.७४% प्रगति प्राप्त गरेको छ। २,२९७ थान मुद्दा फर्छौट भएको छ र ३,९०० थान मुद्दा बाँकी रहेको छ। बाँकी मुद्दामा १३९ थान दुई वर्ष नाघेका र २७८ थान अठार महिना नाघेका रहेका छन्।
नेपालगन्ज उच्च अदालतका वरिष्ठतम न्यायाधीश चन्द्र बहादुर शारुले न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार अदालत, सरकारी वकील, नागरिक समाज र अन्य सरोकारवालासँग समन्वय गरी छिटो र निष्पक्ष न्याय दिने तर्फ जोड दिएका छन्।
उक्त समिक्षा गोष्ठीमा प्रमुख अतिथि न्यायाधीश चन्द्र बहादुर शारुले उत्कृष्ट काम गर्ने न्यायाधीशहरूको सम्मान पनि गरेका थिए।
कार्यक्रममा बाँके र बर्दिया जिल्लाका न्यायाधीश, उच्च सरकारी वकील, र उच्च अदालत बार एशोसिएसन नेपालगन्जका उपाध्यक्ष श्री तीर्थराज ज्ञवाली लगायतका पदाधिकारीहरूको सहभागिता रहेको थियो।