कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रोहित पौडेलको सम्मानसँगै खेलकुद र शिक्षा हब बनाउने अभियान

  • सरला सुवेदी

  • बाँके ।कोहलपुर नगरपालिका वडा नं. ११ मा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानले राष्ट्रिय खेलकुदको इतिहासमा नयाँ अध्याय थप्न लागेको छ। यही मैदानमा हालै राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई विशेष सम्मान गरिएको छ। बालबालिकादेखि उच्च अधिकारीसम्मको उत्साहजनक उपस्थिति रहेको यो कार्यक्रमले कोहलपुरलाई खेलकुदको महत्त्वपूर्ण केन्द्रका रूपमा चिनाउने दिशामा ठोस आधार तयार गरेको छ।

    नगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा उपमेयर संगिता सुवेदी पौडेलले रोहितलाई “राष्ट्रको गहना” भन्दै गर्वका साथ सम्मान गरिन्। उनले भनिन्, “खेलकुदमार्फत कोहलपुरको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हाम्रो निरन्तर प्रयास जारी छ। रोहितजस्ता खेलाडीहरूबाट प्रेरणा लिएर स्थानीय युवाले खेलकुदलाई जीवनको अभिन्न हिस्सा बनाउनेछन्।”


    कोहलपुर नगरपालिका सामाजिक विकास शाखाका संयोजक इश्वरी प्रसाद विकले स्थानीय खेलकुदको विकासमा नगरपालिकाले खेलाडी उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गरेको बताए। “पौडेलजस्तो राष्ट्रिय स्तरका खेलाडीको आगमनले यहाँको खेलकुद संस्कृतिलाई नयाँ आयाम दिएको छ,” विकले भने। उनले शिक्षा र खेलकुदलाई सँगै अघि बढाउने योजनामा नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गरे।

    कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा खेलाडी छनोट संयोजक एलबि क्षेत्रीले पनि रोहितको योगदानको प्रशंसा गरे। उनले क्रिकेट मैदानको निर्माणलाई प्राथमिकतामा राख्दै तीन तहका सरकारको समन्वय र पर्याप्त स्रोत सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए। “महिला क्रिकेटको इतिहाससँग जोडिएको यो स्थानलाई विशेष प्राथमिकता दिनुपर्छ,” क्षेत्रीले भने।

    राष्ट्रिय कप्तान रोहित पौडेलले सम्मान ग्रहण गर्दै आफ्ना विचार प्रस्तुत गर्दै उनले मेहनत र अनुशासनकै कारण आज आफू यो स्थानमा पुगेको उल्लेख गर्दै, “कोहलपुरमा क्रिकेटप्रेमीको उत्साह देख्दा आफुलैई अत्यन्त खुसी लागेको बताए। यो सम्मानले मलाई अझ कडा मेहनत गरेर देशलाई विश्वसामु चिनाउने प्रेरणा दिएको छ।”

    रोहितले कार्यक्रममा सहभागी बालबालिकासँग संवाद गर्दै आफ्नो अनुभव साझा गरे। समता स्कुल कोहलपुरका बालबालिकाहरूसँग समय बिताउँदै उनले शिक्षा र खेल दुवैलाई सँगै अघि बढाउनुपर्ने आवश्यकता बताए। समता स्कुल न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ, जसले कोहलपुरलाई शैक्षिक र खेलकुदको हब बनाउने दिशामा योगदान पुर्‍याएको छ।

    कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण तीव्र गतिमा भइरहेको छ। नगरपालिकाले यो परियोजनालाई भौतिक र आर्थिक दुवै दृष्टिले प्राथमिकता दिइरहेको छ। आधुनिक पूर्वाधार, खेलाडीहरूको प्रशिक्षण केन्द्र, र उच्चस्तरीय प्रतियोगिता आयोजना गर्ने क्षमतायुक्त यो मैदानले देशभरिका क्रिकेटप्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

    यो मैदानको समग्र विकासले कोहलपुरलाई न केवल खेलकुदको केन्द्रका रूपमा स्थापित गर्नेछ, तर यस क्षेत्रको आर्थिक र सामाजिक विकासलाई पनि तीव्रता दिनेछ। नगरपालिकाको यो प्रयासले स्थानीय युवा पुस्तालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै नेपाललाई क्रिकेट जगतमा अझ मजबुत बनाउनेछ।

    रोहित पौडेलको उपस्थितिले कोहलपुरको यो अभियानलाई नयाँ उचाइमा पुर्‍याएको छ। यो सम्मान कार्यक्रमले कोहलपुरका जनताको खेलकुदप्रतिको प्रेम र स्थानीय नेतृत्वको दूरदर्शी सोचलाई प्रस्ट्याएको छ। प्रस्तावित क्रिकेट मैदान केवल खेलकुदको एउटा स्थान नभएर राष्ट्रिय गौरवको प्रतीक बन्नेछ।

  • ८ माघ २०८१, मंगलवार ०८:२५ प्रकाशित

  • Nabintech