“विश्वभरी फैलिएका हामी जनजाति हामी आदीवासी । जोगाइ राखौ भेषभुषा भाषा सस्कृति” भन्ने मुलनाराका साथ आगामी पुस ९ गतेदेखि १७ गतेसम्म कोहलपुरको खुला मैदानमा सञ्चालन हुने प्रथम कृषि तथा पर्यटन प्रवद्र्धन व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव (एस्पो २०८१) को तयारी तिव्र पारिएको छ । नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको आयोजना तथा श्री भावना एम्युजमेन्ट प्रालीको व्यस्थापनमा अयोजना गरिन लागेको महोत्सवलाई भव्य र सभ्यरुपमा सञ्चालन गर्न तयारी तिव्ररुपमा अगाडि बढाएको छ । महोत्सव सञ्चालनका लागि हालसम्म ८० प्रतिशत काम सम्पन्न भईसकेको महोत्सव समिति संयोजक कृष्णबहादुर पुन मगरले जानकारी दिए । स्टल निमार्ण, बालउद्यान, घेराबार पर्खाल निमार्ण लगायतका कामहरु सम्पन्न भइसकेका छन् । त्यस्तै मञ्च निमार्ण, गेट निमार्ण लगायतका कामहरु धमाधम अगाडि बढाइएका छन् । मेलामा करिब २५० वटा व्यावसायिक स्टलहरु तथा २० वटा होटल स्टलहरु रहने स्टल तथा प्रायोजक व्यवस्थापन संयोजक हेमन्त पुनले जानकारी दिए । उनका अनुसार हालसम्म ५० प्रतिशत स्टल बुकिङ्ग भईसकेका छन् । मेलाको उद्घाटन सत्रमा आउने झाँकीहरु समेत तयारी भईसकेको र मेलामा आउने राष्ट्रियस्तरका कलाकारहरुसंग पनि सम्पर्क भईरहेको जनाइएको छ । मेलामा करिब ६७ जनाभन्दा धेरै राष्ट्रियस्तरका कलाकारहरु आउने कला तथा सांस्कृति समितिले जनाएको छ । मेलामा बालउद्यान, कृषि प्रर्दशन, व्यापारिक स्टलहरु, हात्ती सफारी, उँट प्रर्दशनी, कराते र उस्सु खेल लगायतका प्रर्दशनी गरिनुका साथै मगरखाना परिकार, गरुङ्ग खाना परिकार, थारु परिकार, नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।