आँखाको नानी प्रत्यारोपण

  • नमस्ते कर्णाली

  • नेपालगन्ज स्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । पाँच महिना अघिबाट मात्र कर्निया सर्जरी सुरु भएको सो अस्पतालमा मंसीर मसान्तसम्म १५६ जनाको आँखाको नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ डा. राजशी श्रेष्ठले बताएका छन् । यसअघि नेपालगन्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेबाल आँखा अस्पतालमा डा. श्रेष्ठले यो सेवाको सुरुवात गरेका हुन । डा. श्रेष्ठका अनुसार छोटो समयमै यस क्षेत्रका र भारतका धेरै जनाको आँखाको नानी प्रत्यारोपण गर्न सकिएको जनाउँदै यहाँ कर्निया सर्जरी सुरु गरिएपछि बिरामीलाई सहज भएको बताए । आँखाको प्रकृति अनुसार २२ हजारदेखि ३३ हजार रुपियाँसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको फत्तेबाल आँखा अस्पतालले जनाएको छ । १० देखि ८० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको समेत जानकारी अस्पतालका कर्निया विशेषज्ञ डा. श्रेष्ठले गराए । प्रत्यारोपण भने जुनसुकै उमेर समूहका व्यक्तिमा पनि गर्न सकिने उनल जानकारी गराए । काठमाडौँस्थित तिलगङ्गा आँखा प्रतिष्ठानमा मात्र ‘आई बैङ्क’ सञ्चालनमा रहेका कारण तिलगङ्गा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण सेवा प्रदान भइरहेको जनाइएको छ । फत्तेबाल आँखा अस्पतालमा आँखाको उपचारका लागि भारतका विभिन्न स्थानबाट दैनिक ठुलो संख्यामा उपचारका लागि आउने गरेका अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिकले बताए । उनले सो अस्पतालले बाँके लगायत विभिन्न जिल्लाका पालिकामै पुगेर निःशुल्क आँखा उपचार शिविर आयोजना गरी आँखा परीक्षण तथा उपचार गर्दै आएको बताए ।

  • ५ पुष २०८१, शुक्रबार ०८:३५ प्रकाशित

  • Nabintech