किशोरीहरुले मुख्यमन्त्रीलाई सुनाए पुथाउत्तरगङ्गाको समस्या

  • नमस्ते कर्णाली

  • रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट गर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीले गाउँ समाजमा आफूहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन् । उनीहरुले उज्ज्वल भविष्य र बलियो अभियान सञ्चालनका लागि १७ बुँदे मागपत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका हुन् । मुख्यमन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्वोधन गर्ने प्रतिबद्धता जनाएका छन् । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउँदै मुख्यमन्त्री आचार्यले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षालगायत मनोसामाजिक क्षेत्रमा सहयोग पुग्नेगरी कार्यक्रम बनाएको जानकारी गराए । समुदाय केन्द्रित जनजागरण अभियानलाई तीव्रता दिन, त्यस अभियानमा किशोर किशोरीको सहभागिता सुनिश्चित गरिने पनि आचार्यले बताए । मुख्यमन्त्री आचार्यले भने, ‘तपाईंहरुले उठाएका मागहरु प्रदेश सरकारले सुन्छ । बालविवाह मुक्त प्रदेश बनाउने अभियानमा यहाँहरुको साथ सहयोग चाहिन्छ । बनेका नीति, नियम तथा कानुनहरुको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’ बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तीव्रतापूर्वक समाजमा फैलाउनु आवश्यक छ । नीगित रुपमा प्रदेश सरकारले सम्बोधन गरेको र छुटेका विषयलाई आगामी दिनमा सम्वोधन गरिने पनि बताए । पुथा उत्तरगङ्गामा विकास र समृद्धि कायम गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । आचार्यले भने, ‘त्यस क्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ । पुथाउत्तरगङ्गादेखि मर्चवारसम्मलाई माथि उठाउन सक्यौं भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।’ भूगोलबाट पछाडि परेको तथा जनचेतनाको अभावले पनि पछाडि परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने जानकारी दिए । समुदायमा अझैं पनि जातीय छुवाछूत, दाइजो प्रथा, बोक्सीको आरोप लगाउने, छोट्टी बस्ने, बहुविवाह गर्नेजस्ता समाजिक र सांस्कृतिक परम्पराको नाममा हुने हिंसा अन्त्यका लागि प्रदेश सरकारले भूमिका बढाउनुपर्ने किशोरीहरुले माग राखेका छन् । पुथा उत्तरगङ्गाका बालबालिका र विशेषगरी युवाहरुमा लागू औषधको प्रयोग र मदिरा सेवन बढिरहेको भन्दै यसले घरेलु हिंसा, यौन दुव्र्यवहार र छोट्टी बस्नेजस्ता सामाजिक अपराधहरु पनि बढाउने भएकाले समस्या समाधानका लागि बृहत जनचेतनामूलक अभियान चलाउन माग राखिएको छ । स्वास्थ्य चौकीको स्थापना र सहज उपचारसेवादेखि खेलक्षेत्रको विकासका लागि खेलकुद मैदान, खेल सामग्रीको व्यवस्था गर्न माग राखेका छन् । घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था भए पनि त्यो भत्ता समयमा आइनपुग्ने, महिला, बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अति विपन्नलाई सहज तरिकाले मासिक भत्ता लिने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ ।

  • २५ मंसिर २०८१, मंगलवार ०९:०६ प्रकाशित

  • Nabintech