दलित महिला वडा सदस्य अरु भन्दा अब्बल

  • नमस्ते कर्णाली

  • वीरेन्द्रनगर नगरपालिका–८ की चन्द्रा नेपालीलाई घरमा गृहिणी र घरबाहिर जनप्रतिनिधिको भूमिकामा उभिनु पर्छ । घरव्यवहार उनको बाध्यता हो भने समाजसेवा रहर हो । उनले रहरले गर्ने काममा लगनशीलता देखाएर आफ्ना मतदातालाई खुसी राख्ने कोसिस मात्र गरेकी छैनन्, उनले आफूले गर्ने कामबाट आफूभन्दा बढी वडावासी सन्तुष्ट देखिएका छन् । चन्दा वडा सदस्यमा नयाँ अनुहार भने होइन । २०७४ सालमा पनि उनी सोही भूमिकामा थिइन् । जनताले उनको काम निकै रुचाएकै कारण पुनः दोस्रो पटक पनि निर्वाचित भइन् । २०७९ को स्थानीय तह निर्वाचनमा पनि दलित महिला वडा सदस्यमा निर्वाचित भइन् । महिलाका समस्यामा खुलेर बोल्ने उनी वडावासीको समस्या बुझ्न घर घरमा पुग्छिन् । उनको पहलमा गाउँघरमा स्वास्थ्य शिविर, पाठेघर खस्ने समस्याको पहिचान लगायतका काम भएका छन् । त्यति मात्र होइन बाटो, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यका सवालमा उनी सरोकारवाला पक्षहरुसँग निरन्तर पैरवी समेत गरिरहन्छिन् । यस्तै लक्ष्मीकुमारी चुनारा वीरेन्द्रनगर नगरपालिका–११ को निर्वाचित दलित महिला वडा सदस्य हुन । वडा सदस्यका रूपमा करिब साढे दुई वर्षको अनुभव सँगालिसकेकी उनी काममा निकै हौसिन्छिन । सामान्य लेखपढ मात्रै गर्न जानेकी चुनारा जनप्रतिनिधिको जिम्मेवारी समाल्नु अघि घरव्यवहारमै सीमित थिइन । अहिले उनमा घरव्यवहार र जनप्रतिनिधिको दोहोरो जिम्मेवारी छ । लक्ष्मी संविधान प्रदत्त समानुपातिक व्यवस्थालाई अवसरका रूपमा आफूले लिएको बताउँछिन् । तर त्यस अनुसार आफ्नो अवस्था र योग्यता नभएका कारण काममा केही चुनौती देखिएको उनको अनुभव छ । वीरेन्द्रनगर–९ की रत्ना नेपाली पनि चन्द्रा र लक्ष्मी जस्तै दलित महिला वडा सदस्य हुन । सामान्य लेखपढ गर्न जानेकी उनी पहिलो पटक जनप्रतिनिधि बनेकी हुन । उनी आफ्नो जिम्मेवारीलाई अवसरका रूपमा लिन्छिन र गाउँबस्ती स्तरका योजना छनोट देखि महत्वपूर्ण कार्यक्रममा आफ्नो अर्थपूर्ण सहभागिता भएपछि उनी निकै हर्षित छिन् । अर्की मीना थापा विक युवा दलित महिला वडा सदस्य हुन । वीरेन्द्रनगर–१५ की २६ वर्षीय वडा सदस्य मीना वडावासीको सेवा गर्न पाउँदा निकै उत्साही भएको बताउँछिन् । उनको पहलमा टोल टोलमा नयाँ बाटो निर्माण, सरसफाइ अभियान, एकल महिला, दलित महिला, सिपमूलक तालिम भएका छन् । टोल विकास समितिलाई सरसफाइ सम्बन्धी जनचेतनामूलक कार्यव्रmम गर्ने गरिएको उनले बताइन । दलित समुदायको आर्थिक, सामाजिक र राजनीतिक पहुँच र अधिकारका लागि राज्यले अनिवार्य समानुपातिक समावेशिताको अधिकार सुनिश्चित गरेको छ । जसले चन्द्रा, लक्ष्मी, रत्ना, मीना जस्ता हजारौं दलित समुदायका महिलाले स्थानीय सरकारमा प्रतिनिधित्व गर्न पाउँदा उनीहरूको व्यक्तित्व विकासका साथ साथै समुदायको उत्थानमा समेत सहयोग पुगेको वडावासीको भनाइ छ ।

  • २५ मंसिर २०८१, मंगलवार ०९:०२ प्रकाशित

  • Nabintech