सुर्खेत । संघिय सरकारका गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्राथमिकता भनेको दिगो शान्ति, सुशासन कायम गर्नु र आर्थिक समृद्धि रहेको बताएका छन् । गृह मन्त्रालयद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा सोमबार आयोजित ‘‘कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी”लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले भ्रष्टाचार तथा अपराध नियन्त्रण र विधिको शासन कायम गर्न लाग्नुपर्ने र ती कुरामा कुनैपनि सम्झौता नहुने जिकिर गरे । मन्त्री लेखकले भने, ‘लोकतन्त्रमा अनुशासन र वितरण महत्वपूर्ण हुन्छ । अवसर, सम्भावना र अर्थ वितरण गर्दा जनतालाई सेवा प्रवाहमा सहजता दिन सक्नुपर्दछ ।’ औपचारिकता बढी भएर उपलब्धि कम भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले हरेक गतिविधि छोटो तथा परिणाममुखी बनाउन जोड दिए । उनले थपे, ‘शान्ति, सुरक्षा र अपराध नियन्त्रणको समीक्षा गर्न जरुरी छ । हामी समस्याको समाधान गरी निष्कर्ष निकाल्ने पक्षमा छौँ ।’ सङ्घीय सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्घीय कानून बनाउन थालेको र त्यसपछि प्रहरी समायोजनको काम अगाडि बढ्ने गृहमन्त्री लेखकको भनाइ थियो । अहिले पनि कर्णाली प्रदेशका सुरक्षा निकायका संरचना प्रदेश बाहिर भएको उल्लेख गर्दै लेखकले स्थानीय तथा प्रदेश सरकारलाई जग्गाको व्यवस्था गर्न अनुरोध आग्रह गरे ।
मन्त्री लेखकले प्रष्ट पार्दै भने, ‘कर्णाली सबैभन्दा ठुलो, सुन्दर, ज्यादा सम्भावना र अवसर बोकेको प्रदेश हो । कर्णाली प्रदेशको शान्ति सुरक्षालाई थप सुदृढ, सक्रिय, स्पष्ट र प्रभावकारी बनाउने कुरामा आवश्यक काम गर्छौँ ।’ दुई ठुला शक्ति एक ठाउँमा उभिनु मुलुकको आवश्यकता भएको जिकिर गर्दै गृहमन्त्रीले लेखकले संविधानको भावना अनुसार सङ्घीयता कार्यान्वयन गर्न आवश्यक भएको बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संविधानको भावना अनुसार सहअस्तित्व, सहकार्य र समन्वय कम भएको र यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । तीन तहको सरकारको यात्रा सामूहिक म्याराथन दौड भएको उल्लेख गर्दै मुख्यमन्त्री कंडेलले संविधानले व्यवस्था गरे बमोजिमका अधिकारलाई सुनिश्चित गर्न सकेमात्र मुलुकले अपेक्षित लक्ष्य पूरा गर्ने तर्क गरे । प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह सचिव गोकर्णप्रसाद दुवाडी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको छ ।