सामुदायिक वन समुदायको जीविकोपार्जनको माध्यम

  • नमस्ते कर्णाली

  • बाँकेका सामुदायिक वन समुदायको विकासका लागि मात्र नभएर जीविकोपार्जनको माध्यम समेत बनेका छन् । स्थानीय उपभोक्ताहरूको हरेक समस्यामा सामुदायिक वन समूह असल साथी बनेर सहभागी हुने र आवश्यक सहयोग गर्ने गरेको छ । जसका कारण कतिपय उपभोक्ताहरूले सरल रूपमा आफ्नो जीविकोपार्जन गरेका छन् भने कतिपय उपभोक्ताहरू स्वरोजगार समेत बनेका छन् । सामुदायिक वनहरूले आफ्नो वनमा रहेका काठ दाउरा बिक्री गरेर लाखौँ रुपियाँ आम्दानी गर्दै आएका छन् । काठ दाउराको बिक्रीबाट भएको आम्दानीबाट समुदायको विकासका लागि आवश्यक कामहरू गर्नुका साथै स्थानीय उपभोक्ताहरूलाई अप्ठ्यारो परेको बेलामा सहयोग गर्दै जीविकोपार्जनका समेतसहयोग गर्ने गरेका छन् । बाँकेको राप्तीसोनारी– २ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले समाजमा हुने हरेक विकास निकासका क्रियाकलापहरूमा आफ्नो साझेदारी गर्दै आएको छ । सामुदायिक वनका कारण स्थानीय उपभोक्ताहरूले सहज रूपमा जीविकोपार्जन गर्दै आएका छन् भने रोजगारीको सृजना समेत भएको छ । २०५७ सालमा गठन भएको सोे वनले ३९३ हेक्टर वनक्षेत्र ओगटेको छ । समूहमा १३२ घरधुरी सहभागी रहेका छन् । समूहका अध्यक्ष भगानु थारुले भने, ‘हामीले स्थापना भएदेखि हालसम्म समूहका सदस्य तथा उनका परिवारहरूलाई आवश्यक सहयोग गर्नुका साथै समुदायमा हुने हरेक पूर्वाधार विकासमा हाम्रो लगानी गर्दै आएका छौँ, समुदायकै विकासका काममा हाम्रो साझेदारी रहँदै आएको
    छ ।’ उपभोक्ताहरुका आयआर्जनमा टेवा पुराउनुका साथै आपत् परेको बेलामा सहयोग, बालबालिकालाई शिक्षामा सहयोग तथा स्वरोजगार बन्न मद्दत गर्दै आएका थारुको भनाइ
    छ । अध्यक्ष थारुले थपे, ‘कचनापुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको ट्याङ्की निर्माण गरिदिएको छ । त्यहाँबाट उपभोक्ताका घरसम्म पुग्ने पाइप लाइन बिछ्याउने, पानीको मिटर जडान गर्ने लगायतका कार्यमा ५० प्रतिशत अनुदान लागत हामी आफैले बेहोरेका छौँ । गत वर्ष १२ जना उपभोक्ताको घरमा खानेपानी पुर्याउने काम ग¥यौँ, यो वर्ष पनि यो कामलाई निरन्तरता दिन्छौँ ।’ समूहले गाउँमा विद्युतीकरण गर्दा समेत २० प्रतिशत लगानी गरेको छ । त्यसैगरी सिँचाइका लागि मोटर तथा पाइप खरिदमा पनि कूल लागतको ५० प्रतिशत अनुदान रकम उपभोक्तालाई प्रदान गर्दै आएको छ । गाउँको तीन किलोमिटर सडकमा सडक बत्ती हाल्ने काम समेत समूहले आफै गरेको छ । समूहका कोषाध्यक्ष मीनबहादुर सेजुवालले भने, ‘हामीले सामाजिक कार्य अन्तर्गत थुप्रै काममा सहयोग गर्ने गरेका छौँ । ग्रामीण सडकहरू बिग्रे भत्केमा मर्मत सम्भार गर्नेदेखि लिएर उपभोक्ता तथा परिवारका सदस्यहरू बिरामी हुँदा उपचारका लागि सहयोग समेत गर्ने गरेका छौँ । कोही सदस्य बिरामी भएर उपचार गराउनका लागि रुपियाँ पैसा नहुँदा तीन महिनाका लागि २५ हजार रुपियाँ सापटीका रूपमा दिने समेत गरेका
    छौं ।’ समूहले स्थानीय दुई जना स्वयंसेविकालाई वार्षिक ६ हजारका दरले प्रोत्साहन रकम दिने गरेको छ । गर्भवती आमाहरूलाई शिशु स्याहार कार्यक्रम अन्तर्गत पोसिलो खानेकुरा तथा आवश्यक सामग्रीदेखि लिएर बच्चालाई न्यानो कपडा समेत प्रदान गर्ने गरेको छ । त्यसैगरी उपभोक्तालाई जीविकोपार्जन तथा स्वरोजगार बनाउनका लागि विभिन्न आयआर्जन कार्यक्रम सञ्चालन गरेको छ । समूहका सहसचिव अरुण गौतमका अनुसार १० कक्षामा अध्ययन गर्ने उपभोक्ताका बालबालिकाहरूलाई वार्षिक ३ हजार रुपियाँका दरले प्रति व्यक्ति शैक्षिक सहयोग गर्ने गरिएको छ । त्यसैगरी स्थानीय लक्ष्मी माविलाई आवश्यक ३० सेट बेञ्चडेस्क प्रदान गर्नुका साथै स्मार्ट बोर्ड समेत समूहले सहयोग गरेको छ । साथै विद्यालयको भवन निर्माण गर्दा समेत समूहका तर्फबाट सहयोग गरिएको छ । सामुहिक हितका लागि वनको संरक्षण, संवद्र्घन तथा सदुपयोग गर्दै आएको उक्त समूहले हरेक वर्ष खाली वनक्षेत्रमा बिरुवा लगाउनुका साथै वनक्षेत्र र बस्ती क्षेत्रबिच तारबार लगाउने काम गर्दै आएको छ । जसले गर्दा वन्यजन्तु र मानवबिच हुने सम्भावित द्वन्द्वलाई न्यूनीकरण भएको छ । त्यसैगरी वनक्षेत्रमा रहेका वेतबाँस तथा तेँजुका पात बिक्रीबाट समेत समूहले राम्रो आम्दानी गर्दै आएको छ ।

  • १८ मंसिर २०८१, मंगलवार १०:५८ प्रकाशित

  • Nabintech