शनिबार रझेना खानेपानी तथा सुसफाई समितिको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं ३ र ४उपभोक्ता क्षेत्र रहेको सो समितिको चौथो वार्षिक साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश, बाँके क्षेत्र नं १ प्रदेश (ख) का प्रदेश सांसद दुर्गा बहादुर चौथरीले गरेका हुन ।
साधारणसभाको उद्घाटन गर्दै चौधरीले बाँके जिल्लामा सबै भन्दा धेरै बजेट रझेना खानेपानीलाई नै बिनियोजन भएकाले अब यस को काम सम्पन्न हुने आशा पलाएको बताए । आफ्नो मन्तव्य राख्दै चौधरीले भने, ‘२०७९को निर्वाचन पश्चात म लुम्बिनी प्रदेश सरकारको मन्त्री भए पछि मेरै निर्वाचन क्षेत्रको योजना भएकाले यहाँका साथीहरुको माग अनुसार मैले अगाडि बढाएको थिए । तर तत्काल सरकारमा आएको फेरबदलका कारण बजेट विनियोजन हुन नसके पनि यो आर्थिक वर्षमा बजेट पार्न सफल भएका छौं ।’ कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सांसद चौधरीले थपे, ‘अब यसको काम सिस्टममा गएको छ ।
सिस्टम अनुसार काम भएमा अब योजना सम्पन्न हुने कुरामा कुनै शंका छैन।’ त्यस्तै कार्यक्रममा बाँके क्षेत्र न. १ (क) की प्रदेश सांसद कृष्ण के.सी. नमूनाले रझेना खानेपानी योजनालाई सम्पन्न गराउन हामीले आफूले बजेट पार्न सक्ने योजना भित्र पारेर पनि सम्पन्न गर्न सकिन्छ र त्यस्को लागि आगामी आर्थिक वर्षको बजेटमा पार्ने प्रतिवद्घता जनाइन् । सांसद नमूनाले भनिन्, ‘तपाईहरुले वार्षिक साधारणसभामा एक वर्षको कार्ययोजना बनाउँदै गर्दा यो योजनालाई सम्पन्न गर्न कहाँ कहाँ के के गर्नु पर्दछ त्यो पनि तयार गरेर कार्ययोजना बनाउनु होला । जसले गर्दा तपाइहरुलार्ई पनि र हामीलाई पनि कामगर्न सजिलो र वैधानिक हुन्छ ।
योजना माग गर्दा पनि हाम्रो संघिय संरचनाको प्रक्रियाको सिस्टम अनुसार जानै पर्दछ । त्यसमा ध्यान दिनुहोला ।’ त्यस्तै प्रदेशकी समानुपातिक सांसद बसन्ती अधिकारीले रझेना खानेपानी योजनाका लागि आफूले गर्न सक्ने ठाउँबाट सहयोग गर्न सधै तत्पर रहेको धारणा राखिन् । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्रालयका सचिव वासु पौडेलले रझेना खानेपानी योजनालाई आवश्यक पर्ने पूर्वाधारका संरचनाहरु निर्माणका लागि मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्घता जनाए । त्यस्तै खानेपानी डिभिजन कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख प्रकाश जंग शाहले खानेपानी योजनाको कुनै पनि काम गर्दा डिभिजन कार्यालय सँग समन्वय गरेर काम गर्न सुझाव दिए । खानेपानी सरसफाई तथा डिभिजन कार्यालय दाङका आयोजना प्रमुख तिलक न्यौपानेले खानेपानी आयोजनाहरु सँग समन्यय गरेर काम गर्दा धेरै विषयको जानकारी हुँने हुँदा सोही अनुसार काम गर्न सुझाव दिए ।
रझेना खानेपानी तथा सरसफाई समितिका अध्यक्ष द्रोण प्रसाद जैसीले साधारण सभामा समितिको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक प्रतिवेदनमा एक वर्षका आय तथा व्यय र समितिले तिर्नु पर्ने दायित्वको विवरण समावेस गरिएको छ । सभाले वर्षभरी समितिमा रहेर कार्यालय व्यवस्थापनको काम राम्रो गरेकोमा समितिका कार्यालय व्यवस्थापन हिमाल शाहीलाई वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मान समेत गरेको थियो । रझेका खानेपानी तथा सरसफाई समितिको उपभोक्ता क्षेत्र कोहलपुर नगरपालिका वडा नं ३ र ४ रहेको र हाल १२ सय भन्दा बढी उपभोक्ता सदस्य रहेका छन् । वार्षिक साधारणसभा समितिका अध्यक्ष दोर्णा आचार्यको अध्यक्षतामा भएको थियो ।