आज कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न/गराउन निर्वाचन अधिकृतको जोड


  • नमस्ते कर्णाली

  • आज(शनिबार) कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचन सम्पन्न हुन लागिरहेको छ । उद्योग बाणिज्य संघको नवनिर्मित आफ्नै भवनको हलमा मतदान हुने व्यवस्था गरिएको निर्वाचन अधिकृत अधिवक्ता जगतजंग बुढाथोकीले जानकारी गराएका छन् । निर्वाचन अधिकृत बुढाथोकीले भने, ‘ हामीले नवनिर्मित भवनको सभाहलमा मतदान गराउँदा सो हलको मूलढोका बाहिर उम्मेदवारहरुका एजेण्टहरु बस्ने व्यवस्था गरेका छौं । एजेण्टहरुले मतदाता पहिचान गरे पश्चात हलको मूलढोकाबाट मतदाताहरु सभाहल भित्र प्रवेश गर्नुहुन्छ । हल भित्र चार स्थानमा चारवटा बुथ रहने र चारै वटा बुथबाट मतदान गराउने गरी व्यवस्थापन गरिएको छ । मतदाताहरुले मतदान गरिसके पछि हलको उत्तर तर्फको ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ’ ।
    अधिकृत बुढाथोकीले, ‘यस पटकको निर्वाचनमा समूहगत उम्मेदवारी बाहेक व्यक्तिगत(स्वतन्त्र) उम्मेदवारी कसैको नभएका कारण एजेण्टहरुले मतदाता पहिचान गर्ने काम छिटो हुने र त्यस्ले निर्वाचन पनि सहज हुने अनुमान गरेको’ बताए । कोहलपुर उद्योग बाणिज्य संघको नयाँ कार्यसमितिका लागि हुन लागेको यो निर्वाचनलाई स्वच्छ, निक्ष्पक्ष, स्वतन्त्र, लोकतान्त्रिक, पारदर्शी र विश्वशनिय रुपमा सम्पन्न गराउन सरोकारवालाहरुका प्रतिनिधिमुलक सहभागितामा परामर्श गरी निर्वाचन आचारसंहिता तयार पारिएको हुँदा यो आचारसंहिता सरोकारवाला सबै पक्षहरुले पालना गर्ने÷गराउने कुरामा निर्वाचन समिति विश्वास गर्दछ । यदि कसैले निर्वाचनका लागि तोकिएको आचारसंहिता उलङघन गरेमा सोही संहिताको दफा ४ मा गरिएको व्यवस्था अनुसार भै जाने कुरा पनि म सबै सरोकारवालाहरुलाई निवेदन गर्न चाहन्छु’ । नेपाल टेलिकम जाने रोडबाट वाणिज्य संघको कार्यालय जाने बाटो, सो बाटोको उत्तर तर्फ संचयकोषको कार्यालयको गेट सम्मको स्थानलाई निर्वाचन क्षेत्र र संघको भवन प्रवेश गर्ने मुलगेटबाट मतदान स्थल निर्धारण गरिएकाले आचारसंहिता अनुसार तोकिएको निर्वाचन क्षेत्र र निर्वाचन स्थलमा आचार संहिताको पूर्ण पालना गराइने निर्वाचन अधिकृत बुढाथोकीले दाबी गरे । साथै बुढाथाकीले भने, ‘ एजेण्टहरुले मतदाताहरुको पहिचान गरिसके पश्चात मतदान स्थलमा प्रवेश गर्दा मतपत्र तथा मतपेटिकाहरुमा कुनै संकेत गर्ने, फोटो खिच्ने,वा नष्ट गर्ने , गराउन सक्ने बस्तुहरु जस्तो मोबाइल, क्यामरा, पानीको बोतल, तथा कुनै पनि प्रज्वलित सामाग्रीहरु लिन पूर्णरुपमा निषेध गरिएको छ ’ ।
    निर्वाचन अधिकृत बुढाथोकीका अनुसार आज सम्पन्न हुने संघको निर्वाचनमा बस्तुगत मतदाता १५ जना, एशोसिएट मतदाता ५५ जना र साधारण मतदाता १ हजार ६ सय १७ जना गरी जम्मा मतदाता १ हजार ६ सय ८७ जना रहेका र मतदान बिहान ८ बजे देखि अपरान्न ४ बजे सम्म हुने छ ।

  • ३ कार्तिक २०८१, शनिबार १०:१६ प्रकाशित

  • Nabintech