दुर्गम र पिछडिएका क्षेत्रका विद्यार्थीहरूलाई हेल्पिङ ह्याण्ड नेपाल , नर्वेले शैक्षिक सामाग्री बितरण बितरण गरेको छ । मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नं २, दलित बस्ती गाडेखोला गाउँमा एक कार्यक्रमका बिच महत्त्वपूर्ण शैक्षिक सामग्री वितरण गरेको हो । कार्यक्रम अन्तर्गत, श्री भैरव आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई आवश्यक सम्पूर्ण शैक्षिक सामग्रीहरू वितरण गरिएको हो। यस कार्यक्रममा समाजसेवी अनिल बानियाँ, गाउँपालिकाका कार्यबाहक अध्यक्ष नन्दु भियाल, नि. प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र शाही, वडा अध्यक्ष रन्नु बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनसर्न भियाल, बुद्धिजीवी रतन शाही, राजन सिंह ठकुरी, स्थानीय अभिभावक, र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति थियो।
यो अभियानले शैक्षिक सामग्रीको अभावमा पढ्नबाट वञ्चित बालबालिकाहरूलाई नयाँ अवसर प्रदान गर्दै भविष्यप्रतिको आशालाई बलियो बनाउने अपेक्षा गरिएको छ। समुदायमा शिक्षाको महत्त्व बुझाउने र विद्यार्थीहरूको शैक्षिक पहुँच विस्तार गर्न गरिएको यो पहलले विद्यार्थीहरूमा नयाँ उत्साह थपेको छ। सहभागी सबैको सक्रिय योगदानले यस अभियानलाई सफल र प्रभावकारी बनाएको छ।
हेल्पिङ ह्याण्ड नेपाल , नर्वेले प्रत्येक वर्ष नेपालका दुर्गम र पिछडिएका क्षेत्रका १०० भन्दा बढी विद्यार्थीहरूलाई करिब २० लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ। यो संस्था नर्वेको ओस्लोमा अवस्थित छ, जहाँ रहेका नेपाली समुदायको सहयोगले देशका दुर्गम क्षेत्रमा शिक्षा पुर्याउन उल्लेखनीय भूमिका खेलिरहेको छ। संस्थाका सदस्य याम कटुवाका अनुसार, यस वर्ष बाजुरा, मुगु, डोल्पा, चितवन, पर्वत लगायत विभिन्न जिल्लाहरूमा शैक्षिक सामग्रीहरू वितरण गरिएका छन्।
यस महत्त्वपूर्ण कार्यले दुर्गम क्षेत्रका विद्यार्थीहरूको जीवनमा परिवर्तन ल्याउने मात्र होइन, समुदायमा शिक्षाको ज्योति फैलाउँदै आगामी दिनहरूमा अझ ठूलो सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको समाजसेवी अनिल बानियाले बताए । हेल्पिङ ह्याण्ड नेपाल , नर्वेको जस्ता संस्थाहरूको योगदानले दुर्गम क्षेत्रका बालबालिकाहरूलाई शिक्षाको उज्यालो यात्रा तर्फ प्रेरित गर्दै आशा र प्रेरणाको सन्देश प्रवाह गरिरहेको समेत उनले उल्लेख गरे ।