फलफूल बेचेरै आत्मनिर्भर बनेकी मिना

  • नमस्ते कर्णाली

  • अनिता विश्वकर्मा,कोहलपुर

    फलफूल बेचेरै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण बनेकी छन्,मिना भाट ।  ठेलागाडामा फलफूल बेच्नु उनको दैनिकी हो । उनी गाउँगाउँमा पुगेर फलफूल बेच्छिन् । उनी सिजन अनुसार व्यापार गर्छिन् । उनले ग्राहकको माग अनुसार विभिन्न टोल र बजार क्षेत्रमा फलफूल बेच्ने गरेको बताइन् ।


    मिना कोहलपुर–५ मा बसोबास गर्दै आएकी छन् । उनी हरेकदिन विहान ४ बजे उठ्छिन् । आधा घण्टा सामान तयार गर्छिन् । ५ बजे उनी निस्किन्छन्,बजारमा । अनि सुरू हुन्छ, उनको सहयात्रा ठेलागाडासँग । अनि सुरू हुन्छ दैनिक यात्रा । विभिन्न स्थानमा जान्छिन् । फलफूल बेच्दै हिड्छिन् । मिनाले फलफूल बेचेरै दैनिक रुपमा १ हजार देखि १२ सय रुपैयाँसम्म कमाउने गर्छिन् । यहीँ रकमबाट उनले घर खर्च चलाउँछिन् । छोराहरूको पढाइको खर्चसमेत फलफूल बेचेरै जोहो गर्छिन् ।

    उनले ठेलामा व्यवसाय गर्न थालेको पनि १४ वर्ष भयो । केही वर्ष अघि कोहलपुर– ११ मा रहेको कृषि हाट बजारमा तरकारी बिक्री गर्ने मिनाले अहिले कृषि बजारबाटै फलफूल खरिद् गरी कोहलपुर क्षेत्रका प्रत्येक गाउँमा पुगेर विक्री गर्न थालेकी छन् ।
    उनी भन्छिन्,‘नगरपालिकाले रोडमा बसेर बेच्न बन्देज गरेको छ । बाटोमा बेच्न दिन्नन् । आफ्नो घर खर्च जोहो गर्न आफूले खरिद् गरेर ल्याएको तरकारी फलफूल कोहलपुर नगर क्षेत्रका भित्री गाउँ टोलका प्रत्येकको घरदैलोमा पुगेर बिक्रि गर्ने गर्छु ।’ घरबाट निस्कदा उनीसँग एक क्वीन्टल बराबरको तरकारी फलफूल हुन्छ । दिउँसो १२ बजे भित्रमा विक्री गरेर घर फर्कन्छिन् । खाना खाईसकेपछि तयारी अवस्थामा राखेका तरकारी फलफूल लिएर फेरी साझ ४÷५ बजेसम्म बिक्री गरेर फर्कन्छन् ।


    यसरी काम गर्दा आत्माबल बलियो हुने दुईचार पैसाका लागि कसैको भरपर्ने अवस्थाको पनि अन्त्य हुने उनले बताइन् । आफू सन्तुष्टपनि भइने कुरा यसै व्यवसायबाट सिक्ने मौका पाएको प्रति खुशी व्यक्त गरिन् । उनी एकल महिला हुन । समाजले एकल महिलाको नाम दिएपनि दुःख सुख र विभिन्न आरोह अवरोहलाई पार गर्दै सघर्षलाई नै जिन्दगी बनाउनु जानेकी मिनालाई आफु एक्लो हु भन्ने महशुस भने कहिले पनि भएन ।

    २०४० सालमा डडेल्धुराको पोखरा भन्ने ठाउँमा जन्मिएकी मिनाले माईती गाउँकै स्कुलमा कक्षा ५ सम्म अध्ययन गरेकी छन् । छोरीलाई पढाउनु हुँदैन भन्ने समाजमा कक्षा ५ को अध्ययन गर्न आफूलाई निकै गाह्रो भएको थियो । पढने मन हुँदाहुँदै पढ्न नपाएपछि १८ वर्षको उमेरमा घरपरिवारको भनाइ अनुसार बिहे गर्न पर्याे र बिहे गरियो । बिहे भएको केही वर्ष श्रीमानको साथ रहुन्जेल जिम्मेवारी के हो ? भन्ने कुराको महशुस समेत गरेको थिइन् ।

    जब श्रीमानको मृत्यु भयो र आफूले संघर्ष गर्न पर्याे त्यस पश्चात मात्रै थाहा भयो की दुःख के हो र जिम्मेवारी के हो ? यसरी पाएको दुख र गरेको संघर्षले अहिले केही गर्न सक्ने प्रेरणा मिलेको छ । आफूलाई स्थापित गर्ने एउटा पाटो बनेको जसले गर्दा यो समयमा सफल पनि भएकी निरन्तर लागी पनि रहेकी छु । कुनैपनि काम सानो ठुलो हुदैन भन्ने कुराको उदाहरण बनेकी छन् ,मिना ।

    जस्तै कोहलपुर नगरपालिका भित्र वसोवास गर्ने धरै महिलाहरुले आफू आत्मनिर्भर बन्नका लागि विभिन्न पेशा व्यवसाय गर्दै आएका छन् । यस्ता खालका पेशा व्यवसायलाई प्रभावकारी रुपमा थप शसक्त बनाउन र महिलाहरुका सिप क्षमता अभिवृद्धिका लागि स्थानीय तहसंगै महिलाका हकहितमा काम गर्ने संघसस्थाले आयआर्जन लगाएत सिपमुलक कार्यक्रमको धेरै भन्दा धेरै पहल गर्न सके हामीले केही गर्न सक्छौ भन्ने कोहलपुर नगरपालिका भित्रका महिलाहरुलाई थप सहज हुने देखिन्छ ।

  • १३ माघ २०८०, शनिबार ११:५९ प्रकाशित

  • Nabintech