कविदत्त ढकाल
यहीं पुष ४ गते सर्केगाडदेखि सुर्खेतको यात्रा सुरु गर्ने निधो केही दिन अघि नै भएको थियो । त्यो निर्धारित यात्रा कार्यान्वयन गर्नुपर्ने बेला आयो । कुनैपनि यात्रा गर्दा त्यसको पूर्वतयारी गर्नुपर्ने हुन्छ । यात्रा लामो गर्दा बाटोको मार्गचित्र नै दिमागमा चित्रित भएर आँखाको नानीमा प्रर्दशित हुन्छ । सम्पूर्ण योजना त्यसपछि बन्छन्, कोको जाने,कहाँ बस्ने,कहाँ नास्ता खाने र कहाँ खाना खाने र कहाँ सुत्ने आदी । यात्रा फेरि कसिलो समयको थियो,जम्मा दुई दिनको ।
कतिबेला समय निमोठ्ने हो,भने एकदिन एकरात मात्रै लाग्ने देखिन्छ । गम्भीर भएर सोच्दा यात्रा कठिन नै हुने देखिन्छ । सडक कच्ची र नवनिर्मित रहेकोे छ । सडक भत्किरहने गर्दछ । सडकका गाडी बिग्रेर समस्या हुने त्यतिकै डर छ । बाटोमा अटो पार्टस भरिलो नभएको जानकारी पूर्व यात्राको स्मरणले गरायो ।
मेरो सम्झनामा गाडीको यात्रा टुनीबगर र साँफेबगरदेखि गरेको थिए । समय बित्दै जाँदा गाडि नजिक–नजिक हुँदै आउने क्रम जारी भयो । निकै कालखण्डपछि आज त सर्केगाडबाट गाडी चढ्नुपर्ने बेला भएको छ । गाडीमात्र कहाँ हो, राता र काला नम्बर भएका बोलेरा गाडी धेरै रहेछन् ।
म एक्लै यात्राको तयारी गरेको थिए । मसँगै भात खाने खरिदार सर भिमराज पाण्डेलेपनि धुलाचौरसम्म जाने जानकारी गराए । गाडीमा मेरो अनुभव बोलेरोको अगाडिपछाडि गरेर चौध जना मानिसको आवश्यकता पर्ने गर्दथ्यो । यसकै सामिप्यतामा रहेर म गाडीको खोजीमा नयाँ निर्मित सर्केगाडको गाडी पार्कतर्फ हिडे । हिमज्योति माविको प्राङ्गणदेखि गोठी खोलाको दिसातर्फ हिडे । गोठीखोलाको किनारमा खार्पुनाथ प्रा.लि. खोलिएको रहेछ । त्यहाँ पुग्दा विहान सात बजेको थियो ।
पुसको महिना त्यसमाथि सर्केगाड हुम्ला कर्नालीको किनारमा पर्ने हुँदा फेरेको भीरको टुप्पोले घाम लाग्न बर्जित गर्दथ्यो । चिसोले सीमाना नाघेको थियो । आगो तापेर बसेका बहुउद्देश्यीय मानिसको भिडभाड अत्यन्तै सान्दर्भिक प्रयोजनयुक्त देखियो । मेरो एक वाक्यमा नै आसय पूरा भयो । गाडी रातो पिलेटको जादै छ, तुरुन्तै । सुर्खेतसम्मको लागि । उत्साहित पनि भए । चाहियो छ जनाको भाडाको तुरुन्तै कुरा गर्यो । गुरु भन्दा समिति बढी उत्तरदायी देखिन्थे । समितिको लाममा एक सक्रिय सदस्य महा चतु¥याईका साथ भन्नथाले जम्मा सात हजार हो । हामीहरु बडा भलादमी जस्तै देखियौ । प्रतिवाद केही पनि नगरेर अगाडि बढन थाल्यौं ।
यात्रा सुरु भयो गोठीखोला छेउ सर्केगाडबाट । नयाँ बजार हँुदै गाउँपालिका कार्यालयको नजिकैबाट चुनौती र सामनाको विचार गर्दै थाहा भने ठाउँमा पुगियो । झ्यालमा बसेकाले मुण्डी थाहाको दृश्य अवलोकन गरे । गौंका बिजहरु माटोसँगै
संघर्ष गरेर खेतहरु हरियाली छाएको देखियो । यसले मलाई कुनै ऋतु परिवर्तन भएको महशुस भयो । थाहाको उकालो र ओरालो कटेको थाहा नै भएन । न्यासी खोलाले मलाई देखिसकेछ । हामी न्यासी खोलाको पानीमा पुगिसकेछौ । गाडी र पानीको संघर्षको आवाजले मलाई झस्कायो । साह्रै दुःख पाउँदो रहेछ, खोलाले । मैले सोचे खोलाले ऐया पनि गरेन । खोलाको ढाड कुचेर गयो अघि बढ्यो गाडी । पृथ्वीको एक अणु म न्यासी खोलामाथि पुल चाहिने पक्का निर्णयमा पुगे । आफै गफिए छु । कल्प्या पुगेपछि मेरो छेउको साथी भीमराज पाण्डेले कुरा गर्न सुरु गरे । कुराको बिषय नैन बहादुर शाहीबाट भयो । सरल र पेटमा कटुता नभएको मान्छे भन्ने प्रसङ्ग चलाए, भिमराजले । मेरोपनि पूर्ण समर्थन पाए उनले । कल्प्याको डाँडो कटेपछि उखुबारीले चान्स पायो । हाम्रो दृश्य पटल खिच्न । गाडी अगाडि बढेको छ, आफ्नो एक नासको चालमा । सरर… तेस्रो बाटोमा थोरै मोडिएर टुप्लुक्क सरिरल्लाको बेलिब्रिज नजिकै पुग्यो गाडी ।
सधै झुलुङ्गे पुल हल्लाउँदै हिडेको बानी आज त कर्नालीमाथि जमिन जस्तै बनेको बेलिब्रिजमा सरर…सवार हुँदाको क्षण मेरो पहिलो थियो । त्यसमा पनि सवार यात्रु सबैको थियो । पुलको बीच भागमा पुग्दा गलल हाँसो छोडेसँगै म नहाँसी रहन सकिनँ । हाँसोमा मिठाइँ मिसाएको जस्तै थियोे । नयाँ संसार देखे जस्तो । नयाँ कुराको महशुस गरेजस्तै । थियो त्यहाँ अत्यन्तै नयाँ पुलमाथिको सवार । एउटा इतिहास परिवर्तन भएको छ । कष्टले सहजता प्राप्ति गरेको छ ।
पुलमााथिको बिषयले खच्चासम्म अन्यत्र सोच्न दिएन । हुम्ला जिल्लाको सडक सञ्जालमा खच्चाको दुःखद् स्थितिले हामीलाई प्रसङ्ग बदल्न लगायो । हुम्ला कर्नालीको तिरले साँचेको बालुवाको थुप्रोले बनेको खच्चाको भूमि अपरिपक्व मानव जस्तै रहेछ । त्यहाँ न रोडले सुख पाएको छ, न तँ सवार मान्छेहरूले । सारा भूमि सुक्खा पहिरोले कर्नाली पु¥याएको छ । त्यसमा सधै जस्तो सवारहरुले चार–पाँच घण्टा बाटो बनाउने काम गर्नुपर्ने बाध्यताले गाँजेको रहेछ । त्यसदिन हामीपनि बाटो बनाउने काममा बाँकी रहन सकेनौं । पाँच घण्टा सडक निर्माण गरेपछि बल्ल गाडी गुड्यो । हामी हारेको अनुभवबाट विजय प्राप्ति गरेको भान हुन थाल्यो । सबै यात्रुहरू थकित मुद्रामा देखिए । परिश्रमको फल मिठो हुन्छ भने जस्तै रोड बनाइ सकेपछि गाडीमा जान पाइने कुराले वास्तबिक थकाइ प्रदर्शन गरेका थिएनन् ।
खच्चादेखि धुलोमैलो शरीर गाडीभित्रको अटसमटस बसाइँसँगै यात्रा सुरु भयो । बाटो बनाएको प्रसङ्ग गाडीभित्र चर्चा लियो । बालुकुना चेकपोस्टसम्म अन्य कुराले प्रवेश पाएन । बालुकुना गाडी रोकिएपछि मुमलाल आचार्य सरले नयाँ समसामयिक कुरामा जोड दिँदै बौद्धिक र तार्किक सन्दर्भ छलफलमा ल्याउनुभयो । तुम्चको सेरोफेरोमा हुने उत्पादन र त्यहाँको वस्तुस्थिति बिस्तृत रुपमा छलफल भयो । निष्कर्षमा हुम्ला जिल्लाको तराई हो भन्ने भयो । धान,केरा,सुन्तला,कागती,गहुँ,आँप आदि मुख्य बालीका रुपमा फलेको र फल्ने अनुमान गरियो । यति बिषयले मकै पु¥यायो । मकैको अवस्थिति र उत्पादन तुम्चको जस्तो स्वयम् प्रकृतिको भएको ठम्याइ भयो । अलि फरक बिषय चिउरीको रुखले लियो । ठूला बडेमानका रुख तेलहन बालीमा पर्ने रुख रहेछन् । हुम्लाको लागि ति चिउरीको रुख इतिहास पो रहेछन् । बीउलाई बिस्तार गरेर चिउरीको विकास गर्नुपर्ने सम्म पुग्यौं । गाडी गल्फागाड पुगी सक्यो ।
रातो प्लेटको गाडीले सवारी बोकेको बैधानिक मान्दो रहेन छ । त्यहाँ गल्फागाडबाट थाहा भयो । प्रहरी चेकपोस्टले जानकारी गरायो । गुरुलाई केही समय सम्झाएर त्यहाँबाट गाडी पठाए । गाडी गल्फागाडदेखि मछाट हुँदै भाडकुक्काको मुन्तिर हुम्ला कर्नाली र मुगु कर्नालीको संगम दोमुख पुग्यो । गाडीमा तेल हाल्ने समय गुरुले सवारीसँग मागे । सवारी सबै झरेर दोमुख बजार अवलोकन ग¥यौ । त्यहाँको प्रमुख बिशेषता माछा मार्ने र बेच्ने रहेछ । दुई कर्नालीले पालेका माछा बिना कर तिरेर ब्यापारीहरु मनग्ये आम्दानी गर्ने देखियो । माछाका परिकारमा आधुनिकता आएको पाइएन । सुकुटी माछाको लागि नेपालकै प्रसिद्ध हुने ठोकुवा गरियो । अहिले अन्यत्रबाट पालेका माछा त्यहाँ पुगेका छैनन् । कर्नालीका अर्गानिक माछा त्यति हुनु नेपालको माछा अर्गानिक हब घोषणा गर्नु उपयुक्त देखियो ।
दोमुखदेखि गाडी चढेर छाल हँुदै पैमा पुग्यौं । समय यो दिनको घन्कि सकेको थियो । गाडिको स्पीड गुरुले बढाइ सके ।
छाल पैमा कुवाडिउदा गल्कि पाके औला
आइज बाज उडाइ लैजा पर्खि बसि रौला ।
देउडा गीत गाउन थाले उनापानीका व्यापारी दाजुले । मुमलाल सरले मतर्फ फर्केर के गीत गाएको भन्नुभयो । मैले सरलाई भने यो हुम्लाको अमलाका लागि प्रसिद्ध स्थल हो । छाल ,पैमा र कुवाडि नजिकैको क्षेत्र भएकाले उहाँले यस क्षेत्रलाई सम्मान स्वरुप देउडा गीत गाउनु भएको हो । यो औलेटा क्षेत्र हो । माथि हेर्नु त अमलाको जङ्गल भने मैले । मुमलाल सर चकित पर्नुभयो । उहाँ भावनामा डुबेर सत्य र तथ्य कुरा गर्नुभयो । अमला संरक्षण विकास यहाँको आवश्यकता रहेछ । भन्दै कवाडी हुम्ला चेक पोष्टमा पुग्यौं । चेकपोस्टमा गुरुले ट्राफिकसँग साउति गरेपछि गाडी छोडे त्यसमा हाम्रो केही प्रतिक्रिया रहेन ।
कुवाडी पुल तरेर बाजुरा जिल्लामा गाडी सहित सवारसबै हाजिर भयौ । नजिकै बाजुरा चेकपोस्ट रहेछ । चेकपोस्टमा सरल स्वभावका राष्टसेवक सुरक्षाकर्मी कर्मचारी रहेछन् । त्यसैको बीचमा गाडी समितिको नाममा एक दारिवाल व्यक्तिको आगमन भयो । रातो प्लेटको गाडी मान्छे बोक्न पाइदैन भनेर बुर्कुसी मार्न थाले । गुरु सरल तर आफ्नो लागि नजाने जस्तै गरेर आफ्नो कामको वातावरण मिलाउँथे । जतिसुकै सिपालु भएपनि मुर्खका अगाडि दैव डराओस् भयो । कमिसनको बार्गेनिङ चल्यो । त्यो कता पुगेर टुङ्गो लाग्यो थाहै भएन । गाडी छोडे मुक्ति पाए जस्तै भयौं । गुरुले गाडी तीव्र गतिमा चलाए । साँझ भैसकेको थियो । अध्यारोमा तिथिचौर ,रासकोटे छोपिएको पैह्रो ,लेब्डी ,साका तुसारपानी हुदै धुला चौर पुग्यौं । धुलाचौर बीच बजारमा पुग्यौं । फेरि रातो प्लेटले दुःख दियो । समितिको नाममा कलिलो उमेरको युवकले हाम्रो चढेको गाडीमाथि धाप मा¥यो । हामी झसङ्ग भयौं । लामो सघर्ष पछि गाडी छोडे ।
धुलाचौरदेखि गाडी अघि बढ्यो । रागे गौडा ,काटेपहरा, अथगे चौर ,वादु बगर ,पादुका स्थान हुदै पिलुचौर पुग्यौं । त्यो समयमा सिर्जनात्मक र रचनात्मक कुरा गर्न सकिएन । पिर थियो रातो प्लेटको र समितिको । पिलीको खोला र त्यसले बनाएको खुला क्षेत्रमा पानी माथि गाडी चलाउनु पर्ने थियो । लामो समयसम्म पुल नलागेर सास्ती भएको जानकारी गराए,बरै हंस वीरका दाजुले । त्यतिकैमा हामी काउन्टर नजिकै पुग्यौं । काउन्टरका कपाल पालेका पाँच,छ जनाको समूहले रातो प्लेटको गाडी जान पाइदैन भन्न थाले । करिब आठ बजिसकेको थियो । हामी यतै खाना खाउ गाडी अलि सजिलै छोड्लान् भन्ने भयो । विचार गर्दा जटिल समस्या ल्याउलान् जस्तो । गुरुको सातो उडेजस्तै थियो । एक घण्टाको रस्साकस्सीपछि बार्गेनिङ सकियो । हामी भित्रै पसेर कुरा बुझेनौ । खाना खाए गाडी चढन आग्रह गरे गुरुले । हर्ष विभोर भएर सबै गाडी चढेर हल्लिदै अगाडि बढ्यौं ।
कच्ची बाटो त्यसमाथि गीत बजाएर सबैको ध्यान केन्द्रित गरिएको र बाहिर चकमन्न अध्यारोपनि । गाडी गुडेको गुड्यै गर्न लाग्यो । सबै भात खाएपछि नून खाएको कुखुरा जस्तै भए । जुड्डीसम्म म पनि बिउँझेकै थिए । त्यस भन्दा अगाडी निदाएछु । अरु कुरा थाहै भएन । जब सिम लागेछ मेरो निद्रा खुल्यो । मुमलाल सर तँ जागा नै हुनु हुँदो रहेछ । त्यस भन्दा अगाडीको बाटो युगले स्थान पायो । सत्य,त्रेता,द्वापर र कलियुगका बिषयमा गहकिलोतर्क सहित् कलियुगमा हामी प्रवेश गरेको तत्कालीन अवस्थाले जानकारी गराएको निष्कर्ष निस्क्यो । सान्नीगाडमा हामी पुगि सक्यौं । गुरुले त्यहीँ सुताए । सबै झ्याम निदाए निदाएको केही समयपछि मुमलाल सरको घुराइको आवाजले कसैलाई सुत्न दिएन ।
कति सुत्ने प्रयास ग¥यौ । फेरि त्यहीं अवस्था दोहोरियो । सबै उठेर हिड्ने कुरा भयो । आखिर गाडी चढेर त्यहाँबाट हिड्यौ । अध्यारो रातमा गाडी हिडेको छ, हामी मुमलाल सरको घुराइको मजागमा छौ । बाहिर कतै देखिदैन । राकम कर्नाली पुगेपछि उज्यालो भयो । त्यहाँ चेक पोष्टमा त्यतिसारो केही गरेनन् । गाडी गुडी रहयो । टुनीबगर पाल्तडा पुग्यो । सवार सबै शिथिल जस्तै थिए । महत्वपूर्ण बिषयमा कुरा हुन छाडे । डुङ्गेश्वर पुगेपछि विहानको खाना भयो । त्यहाँ के कुरो आयो भने रातो प्लेटको गाडी मान्छे बोकेर आयो भने गुरुलाई कुट्छन् । हामी सिस्नोमा बसेका सिस्ने किराजस्तै भएका थियौ । कसैले रातो प्लेटका कुरा गर्ने बित्तिकै तर्सिने । त्यहाँ विकल्प पनि थियो । गुराँसेको बाटोको । गुरुले एउटा समितिलाई फोन गर्दा माथिल्लो गुराँसेको बाटोबाट आउ भने ।
गाडी गुराँसेको उकालो चढ्यो । धेरै मोडहरु चढ्यो । त्यस बीचमा मध्यपहाडि लोकमार्ग जोडिनेपनि रहेछ । उकालो चढेको छ, चढेको छ । गाडी तातेर गनाएको छ । धन्न उल्टि गर्ने कोहीपनि थिएनन् । जतिसक्दो माथि गयो त्यति चिसो हुँदै आयो । सबै निद्राले ढसमस भए । गोठीकाडा र गुराँसेपनि देखियो । गुराँसे पुगेपछि सुुर्खेतको भित्री मधेसीको उपत्यका छर्लङ्ग देखियो । गाडी ओरालो झर्दै गयो । सुर्खेतको भ्याली पुग्ने स्थानमा भएको समितिको चेक पोष्ट रहेछ । त्यहाँ फेरि रातो प्लेटले संकट निम्त्याउने भयो । सबै सवारहरु डरायौ । विकल्प पनि खोज्यौ । अब रिक्सामा पनि जान सकिन्छ भनेर । गुरु र समितिबीच के सम्झौता भयो थियो थाहा भएन । गुरु आएर गाडी चलाउन सुरु ग¥यो । गाडी अगाडी पछाडी समितिहरु लागेर सुर्खेत कालिमचोकसम्म गयौं । अब के हुने हो भनेर हामी सबै गाडीबाट झर्याै । खाली गाडी लिएर गुरु र समिति बस पार्कतिर लागे । दोस्रो दिनको यात्रापनि सकियो । रातो प्लेटको गाडी र समितिहरु…. ।