१७, बैशाख २०८२
जुम्लाको तिला गाउँपालिका -३ की ५० वर्षीया रत्नकली सुनार घुँडा र छाती दुख्ने समस्याले ग्रसित थिइन् । शिविरमा विशेषज्ञ डाक्टरले उनको समस्याको पहिचान गरी उपचार सेवा दिएका छन् । उनले भनिन्, ‘आर्थिक अभावले सदरमुकाम खलंगा पुगेर उपचार गराउन पाएकी थिइन् । गाउँमै डाक्टर पुगेपछि खुलेरै स्वास्थ्य समस्या राख्न पाएँ।त्यही अनुसारको औषधी र उपचार सेवा पाएँ ।’विशेषज्ञ चिकित्सकले उनको जाँच गरेर औषधि र ख्याल गर्न सुझाव दिएपछि उनको अनुहारमा राहतको मुस्कान देखियो। “यनि:शुल्क शिविर गाउँमा नआएको भए हामीजस्ताले डाक्टरलाई कहाँ भेट्थ्यौँ र?” उनले खुसीले भनिन्। यस्तै अर्का तिला गाउँपालिका -३ का ६० वर्षीय हरी बहादुर खत्री स्वास्थ्य शिविर संचालन भएको थाहा पाएपछि स्वास्थ्य चौकी पुगे। “हड्डी, ढाड, तालु खाइन्छ, धेरै दुख्छ,” उनले आफ्नो पीडा सुनाए।गाउँमा सबैले विशेषज्ञ स्वास्थ्य शिविर भइरहेको सुनाएपछि उनी पनि जाँच गराउन पुगेका थिए। “गाउँमा विशेषज्ञ शिविर बसेको थाहा पाए। त्यसैले आएँ,” उनले भने।विशेषज्ञ स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षण गरे उपचारको सल्लाह दिएपछि उनलाई आफ्नो स्वास्थ्यप्रति ढुक्क भएको अनुभव भयो। “ अवसर हामीलाई कहिल्यै आएको थिएन। गाउँमै डाक्टर भेट्दा मनै रमायो,” उनले मुस्कुराउँदै भने।तिला गाउँपालिकाले दुई स्वास्थ्य चाैकीमा विशेषज्ञ स्वास्थ्य शिविरकाे आयोजना गरेको थियोे। तिलाको घोडेमहादेव र कुडारी स्वस्थ्यचौकीमा विशेषज्ञ स्वास्थ्य शिविर गरिएको हो।विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविरबाट ७ सय ६५ जनाले स्वास्थ्य सेवा लिएका छन्। जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको विशेषज्ञ टोली शिविरमा खटिएको थियो।प्रतिष्ठाका अस्पताल निर्देशक तथा विशेषज्ञ डाक्टर पुजन रोकाया,डा राजेन्द्र गिरी,शम्भु कुमार यादव,डा टंक आचार्य, डा तुफान कठायत र डा अरूण उप्रेती गाउँपालिकाका स्वास्थ्यकर्मीकाे टाेली पनि थियोे।गाउँमै विशेषज्ञ चिकित्सक पुगेर स्वास्थ्यजाँच गर्न पाउँदा स्थानीय खुसी भएका छन्।तिला गाउँपालिका स्वास्थ्य शाखाले जनता संग अध्यक्ष र उपाध्यक्ष कार्यक्रम अन्तर्गत नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गरेको हो। घोडेमहादेवमा २ सय ६१ जना जसमध्ये स्त्रीरोग ३९ जना ,हाडजोर्नी रोग ५७ जना र जनरल मेडिसिन तर्फ १ सय ६५ जनाले सेवा लिए। यस्तै कुडारी स्वास्थ्य शाखामा ५ सय ४ जना लाभान्वित भए।स्त्रीरोग १ सय १७ जना, हाडजोर्नी तर्फ १ सय ४० जना र जनरल मेडिसिन तर्फ २ सय ४७ जनाले सेवा लिएकाे स्वास्थ्य शाखाका फोकल पर्सन उत्तम देवकोटाले बताए। ‘ग्रामिण बस्तीका नागरिकले खर्चको बोझले विशेषज्ञ सेवा पाइरहेका थिएनन्’, उनले भने, ‘यो पटक चिकित्सकलाई खुलेरै समस्या राख्न पाए ।’शिविरमा स्त्रीरोग, हाडजोर्नी, नसारोगको सेवादेखि सामान्य चिकित्सकीय सेवा प्रदान गरिएको थियो । गरिबीका कारण वर्षौंदेखि रोग पालेर बसेका नागरिक थिए । यो शिविरले उनीहरुको उपचार पनि गर्यो । ‘औषधी दिएर बिरामीलाई खुसी पनि बनाइयो,’ फोकल पर्सन देवकोटाले थपे, ‘अब पटक पटक शिविरको आयोजना गरेर नागरिकको स्वास्थ्य अवस्थामा निगरानी गर्ने लक्ष्य छ ।’घोडेमहादेवको विशेषज्ञ स्वास्थ्य शिविरमा ६ गाउँ र कुडारी शिविरमा १० गाउँका स्थानीयहरु लाभान्वित भए।यता तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले नागरिकको स्वास्थ्य प्राथमिकतामा राखेर काम भइरहेको बताए । उनले भने, ‘गाउँमा धेरै स्वास्थ्य समस्या भोगिरहेका नागरिक छन् । उनीहरुको रोगको पहिचान गर्ने, उपचार सेवा प्रदान गर्ने र रोगको प्रकृति अनुसार उपचारका लागि मार्ग देखाउन शिविर चलेको हो । ’ उनका अनुसार जनतासँग अध्यक्ष र उपाध्यक्ष कार्यक्रमको बजेटबाट स्वास्थ्य शिविर चलाइएको हो ।गत फागुन १४ गते जुम्लाकोट स्वास्थ्य चौकीमा क्षयरोगका नयाँ बिरामी पत्ता लगाउन निःशुल्क ‘स्क्रिनिङ’ शिविर आयोजना गरिएको थियो। त्यो शिविरले पनि स्थानीयवासीलाई ठूलो सहयोग गरेको थियो।
क्याप्सन: विशेषज्ञ स्वास्थ्य शिविरमा परिक्षण गर्दै बिरामी तस्बिर गाेल्डेन बुढा /