१७, बैशाख २०८२
बाँके ।बाँके जिल्लाको बैजनाथ गाउँपालिका–४, नौलापुरस्थित कच्ची कुलोमा पुरिएको अवस्थामा एक बालकको शव फेला परेपछि प्रहरीले बालककी आमा यसोदा बुढा र उनका साथीसाथ सौतेला बाबु निरकनाथ योगीलाई हत्या अभियोगमा पक्राउ गरेको इलाका प्रहरी कार्यलय कोहलपुरका निमित्त कार्यलय प्रमुख प्रहरी निरीक्षक रेशमलाल पौडेलले जानकारी दिनुभएको छ।
पौडेलका अनुसार २०८२ वैशाख १५ गते साँझ ५ बजे स्थानीय बासिन्दाले कुलोमा माटोले आधा पुरिएको अवस्थामा एक शव देखेपछि इलाका प्रहरी कार्यालय, कोहलपुरमा खबर गरेका थिए। घटनास्थलमा खटिएको प्रहरी टोलीले शवलाई निकालेपछि मृतकको पहिचान कोहलपुर नगरपालिका–११ निवासी ९ वर्षीय कुशल बुढा भएको पुष्टि भएको हो।
अनुसन्धानको क्रममा मृतक बालकको सौतेला बाबु निरकनाथ योगी र आमा यसोदा बुढाले योजनाबद्ध रूपमा हत्या गरी शव माटोले पुरेको प्रारम्भिक निष्कर्ष प्रहरीको छ। झन् चकित पार्ने कुरा त के भने, मृतकको आमाले वैशाख ९ गते मात्र छोरा हराएको भन्दै प्रहरीमा निवेदन दिएकी थिइन्। तर बालक वैशाख ८ गतेदेखि नै हराइरहेका थिए। साथै, उनले न त आफन्तलाई खबर गरिन्, न त खोजतलासमा कुनै चासो देखाइन्।
यस घटनासँग सम्बन्धित ठोस प्रमाणका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरले दुबै अभियुक्तलाई नियन्त्रणमा लिई बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।