कर्णाली प्रदेशले पहिलोपटक सम्पन्न गर्‍यो एमालेको तीन महिने वडाकेन्द्रीत अभियान, प्रतिवेदन महासचिव पोखरेललाई बुझाइयो

  • नमस्ते कर्णाली

  • १६, बैशाख २०८२

    बाँके ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशव्यापी रुपमा सञ्चालन गरेको तीन महिने वडाकेन्द्रीत पार्टी अभियान २०८१ माघदेखि चैत्र मसान्तसम्म सञ्चालन गरियो। सो अभियान अन्तर्गत कर्णाली प्रदेशले सबै प्रदेशहरूभन्दा पहिला अभियान सम्पन्न गर्दै विस्तृत प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ।

    कर्णाली प्रदेश इन्चार्ज गोरख बहादुर बोगटीको तर्फबाट तयार पारिएको अभियान प्रतिवेदन पार्टी महासचिव कमरेड शंकर पोखरेललाई च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा संक्षिप्त मौखिक जानकारीसहित औपचारिक रूपमा बुझाइएको हो। यस क्रममा प्रदेश इन्चार्ज बोगटीले अभियानका प्रमुख उपलब्धिहरू र देखा परेका चुनौतीहरूको बारेमा महासचिवलाई जानकारी गराएका थिए।

    पार्टीले दिएको कार्यादेशअनुसार भूगोल जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूले वैशाख १५ गतेभित्र अभियान प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था थियो। कर्णाली प्रदेशका भूगोल जिम्मेवारीमा रहेका सबै केन्द्रीय सदस्यहरूले आ–आफ्नो क्षेत्रको प्रतिवेदन समयमै बुझाएका छन्।

    अभियान अवधिमा पार्टी संगठनलाई पुनर्गठन तथा सुदृढीकरण, नयाँ सदस्यहरूलाई पार्टीमा आकर्षण, कार्यकर्तालाई वैचारिक प्रशिक्षण, तथा स्थानीय समस्याको पहिचानजस्ता कामहरू प्रभावकारी रूपमा सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ। साथै, गाउँ–गाउँसम्म पुगेर कार्यकर्ता तथा जनसमुदायसँग प्रत्यक्ष संवाद गर्ने कार्यले पार्टी र जनताको सम्बन्ध थप मजबुत बनाएको निष्कर्ष निकालिएको छ।

    महासचिव पोखरेलले प्रतिवेदनको अध्ययनपछि अभियानको समग्र मूल्यांकन गरी आवश्यक निर्देशन दिने जानकारी दिइएको छ। कर्णाली प्रदेशमा सञ्चालन भएको अभियानले संगठनलाई थप सक्रिय, सक्षम र जनमुखी बनाउने दिशामा नयाँ ऊर्जा दिएको पार्टीले विश्वास लिएको छ।

     

     

  • १६ बैशाख २०८२, मंगलवार २०:४१ प्रकाशित

  • Nabintech