लुम्बिनी प्रदेशमा नौ महिनामा २५ सयभन्दा बढी घरेलु तथा साना उद्योग दर्ता, १६ सयभन्दा बढी बन्द

  • नमस्ते कर्णाली

  • १५, बैशाख २०८२
    बाँके ।लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा दुई हजार पाँच सय ७९ वटा घरेलु तथा साना उद्योगहरू दर्ता भएका छन्। लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सूचना अधिकारी सन्तोष सुवेदीका अनुसार असारदेखि चैत महिनासम्म प्रदेशका १२ वटै जिल्लामा उद्योग दर्ता भएका हुन्।

    दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै रूपन्देहीमा ६८० वटा, बाँकेमा ५२६ वटा, दाङमा ३२८ वटा र नवलपरासी पश्चिममा २५२ वटा उद्योगहरू रहेका छन्। त्यसैगरी, कपिलवस्तुमा २६६, बर्दियामा २४०, पाल्पामा ६४, गुल्मीमा ४२, अर्घाखाँचीमा ५८, प्युठानमा २५, रोल्पामा ६२ र रुकुम पूर्वमा ३६ वटा घरेलु तथा साना उद्योग दर्ता भएका छन्।

    सूचना अधिकारी सुवेदीका अनुसार, दर्ता हुने उद्योगहरूमा कृषि तथा पर्यटनसँग सम्बन्धित घरेलु उद्योगहरूको संख्या बढी छ। तर, यही अवधिमा १,६९५ वटा घरेलु तथा साना उद्योगहरू बन्दसमेत भएका छन्।

    बन्द हुने उद्योगहरूको संख्या पनि रूपन्देहीमै सबैभन्दा बढी २७८ रहेको छ। त्यसपछि दाङमा २७०, बाँकेमा १८८, नवलपरासी पश्चिममा १३४, कपिलवस्तुमा १५९, बर्दियामा ११५, पाल्पामा १७८, गुल्मीमा २०४, अर्घाखाँचीमा १६, प्युठानमा ४४, रोल्पामा ९० र रुकुम पूर्वमा १९ वटा उद्योगहरू बन्द भएका छन्।

    सूचना अधिकारी सुवेदीले आर्थिक मन्दीको प्रभावसँगै स्वदेशी युवा जनशक्ति विदेश पलायन भएकाले घरेलु तथा साना उद्योगहरू बन्द हुने अवस्था आएको बताउनुभयो। उहाँले भन्नुभयो, “भित्री कारण अन्य भए पनि उद्योग बन्द गराउने अधिकांशले आर्थिक मन्दीको असर र वैदेशिक रोजगारीका लागि देश छाड्नुपर्ने अवस्था आएको बताएका छन्।”

     

     

  • १५ बैशाख २०८२, सोमबार ११:२३ प्रकाशित

  • Nabintech