१५, बैशाख २०८२
बाँके। बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल प्रमुख विहीन बनेको छ। अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाश प्रसाद साह एक महिनाअघि सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा भएपछि अस्पताल नेतृत्वविहीन बनेको हो।
हाल अस्पतालका डा. प्रविण गुप्तालाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ, तर उनलाई आर्थिक अधिकार प्रदान गरिएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ गरेकाले अस्पतालको प्रशासनिक कार्यसमेत प्रभावित भएको छ।
प्रमुख विहीनताका कारण कर्मचारीहरूले समयमै तलब पाउन सकेका छैनन्। साथै, रिएजेन्ट, केमिकल र औषधीको अभाव हुन थालेको छ, जसका कारण प्रयोगशाला सेवा प्रभावित भई बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता सिर्जना भएको छ। यसले बिरामीलाई थप आर्थिक भार थपिएको छ।
भौतिक पूर्वाधार निर्माणसमेत प्रभावित बन्न थालेका छन्। अस्पतालको डे केयर भवन, फार्मेसी, र ल्याब भवनको निर्माण कार्य ठप्पिएको अस्पताल प्रशासनले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल भेरी अस्पतालका वरिष्ठ चिकित्सकमध्ये एकलाई कार्यकारी निर्देशक बनाएर खटाउने तयारीमा थिए। तर क्यान्सर अस्पतालमा उपकरण खरिदलगायतका अनगिन्ती जिम्मेवारी र आर्थिक अव्यवस्थाको जोखिम देखेर सम्भावित उम्मेदवारहरूले जिम्मेवारी लिन चासो नदेखाएको बताइएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिले अस्पतालका लागि नयाँ कार्यकारी निर्देशकको खोजी तीव्र पारिएको छ। स्रोतका अनुसार सकेसम्म नेपाली कांग्रेस समर्थक चिकित्सक वा गठबन्धन दलसँग निकट विचारधारा राख्ने योग्य चिकित्सकलाई जिम्मेवारी दिने तयारी गरिएको छ।