१४, बैशाख २०८२
बाँके ।प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर इकाइ समितिको आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रिय सचिव विष्णुप्रसाद पोखरेल र विशिष्ट अतिथि बबई बहुमुखी क्याम्पसका सभापति सन्तकुमार बर्माको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
प्रमुख अतिथि पोखरेलले मध्यपश्चिम विश्वविद्यालयमा पछिल्लो समय देखिएको गतिविधिप्रति चासो व्यक्त गर्दै देखिएका समस्याहरु तत्काल समाधान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वविद्यालयले सबै पक्षको समस्या समाधान गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो। पोखरेलले माग र समस्याप्रति प्रजातन्त्रवादी प्राध्यापक संघ केन्द्रिय कार्यसमिति सदैव चनाखो रहेको पनि उल्लेख गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि बर्माले समायोजन प्रक्रियामा देखिएका समस्याहरु अझै समाधान नभएकोमा दुःख व्यक्त गर्दै छिटोभन्दा छिटो समाधानका लागि पहल आवश्यक रहेको बताउनुभयो।
कार्यक्रमका सभापति एवं इकाइ सभापति एकराज शर्माले आंशिक प्राध्यापकहरुको स्थायीत्व, समायोजन प्रक्रिया, ग्रेड, दुर्गम भत्ता, र जागिर सुरक्षाजस्ता प्रमुख समस्यामाथि गम्भीर ध्यानाकर्षण गराउनुभयो। उहाँले विश्वविद्यालयका पदाधिकारीहरुलाई चाँडो पहल गरी समस्याहरु समाधान गर्न संघले आग्रह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रमका क्रममा हालसालै नियुक्त भएका प्राध्यापकहरु — टिकाराम न्यौपाने (समाजशास्त्र), दक्षिणा चन्द (अङ्ग्रेजी शिक्षा), खड्कबहादुर वली (अङ्ग्रेजी शिक्षा), राजन लडेल (विज्ञान) र अच्युत शर्मा (विज्ञान) लाई खादा ओढाएर सम्मान गरिएको थियो।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख रमेशचन्द्र अधिकारी, कर्मचारी संघका अध्यक्ष शिवप्रसाद रेग्मी, प्रशासकीय अधिकृत वेदराज लम्साल, उपप्राध्यापक छबिराज शर्मा लगायत प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन प्राध्यापक संघका उपसभापति तथा कार्यसमिति सदस्य मीनबहादुर केसीले गर्नुभएको थियो भने सभापतित्व इकाइ सभापति एकराज शर्माले गर्नुभएको थियो।