कोहलपुरका भूमिहीन दलित-सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न प्रधानमन्त्री ओली कोहलपुर आउँदै

  • नमस्ते कर्णाली

  • १०, बैशाख २०८२
    बाँके । कोहलपुर नगरपालिका वडा नं. १ का भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई जग्गा धनी प्रमाणपत्र (लालपुर्जा) वितरण गर्ने ऐतिहासिक अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् वैशाख २० गते कोहलपुर आउने हुनुभएको छ।

    वर्षौंदेखि जमीनविहीन जीवन बिताउँदै आएका समुदायलाई भूमि अधिकारको प्रत्याभूति दिलाउन कोहलपुर नगरपालिका वडा नं. ११ स्थित क्रिकेट मैदानमा विशेष समारोह आयोजना गरिनेछ। समारोहमा प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यता रहनेछ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, जिल्ला भूमि आयोग, स्थानीय सरकार, नापी तथा मालपोत कार्यालयका प्रतिनिधि र विभिन्न राजनीतिक दलका नेताहरूको सहभागिता रहनेछ।

    जिल्ला भूमि आयोगका अध्यक्ष घननाथ खनालका अनुसार, पहिलो चरणमा कोहलपुर वडा नं. १ का करिब ७ सय परिवारलाई लालपुर्जा वितरण गरिनेछ। उहाँका अनुसार हाल करिब ३ हजार परिवारलाई प्रमाणपत्र वितरण गर्ने दीर्घकालीन लक्ष्यसहित काम भइरहेको छ।

    “वैशाख १४ गतेभित्र ती ७ सय परिवारको नापी तथा मालपोत कार्यालयमा श्रेस्ता कायम गरी प्रमाणपत्र तयार गर्ने तयारीमा छौं,” अध्यक्ष खनालले जानकारी दिनुभयो “काम पूरा हुन नसकेको कारण पहिलो चरणमा ७ सय परिवारलाई वितरण गरिनेछ। बाँकी परिवारलाई दोस्रो चरणमा समेटिनेछ।”

    यो कदमले दलित तथा सुकुम्बासी समुदायको जीवनमा स्थायीत्व ल्याउने विश्वास लिइएको छ। लालपुर्जा वितरणमार्फत उनीहरूलाई कानुनीरूपमा जग्गाको अधिकार सुनिश्चित गर्दै सम्मानपूर्वक जीवन यापन गर्न सक्ने वातावरण निर्माण हुँदैछ।

     

     

  • १० बैशाख २०८२, बुधबार ११:०० प्रकाशित

  • Nabintech