८, बैशाख २०८२
बाँके ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राति उपचार आवश्यकताका कारण परिवारको जिम्मा लगाउँदै हाजिरी जमानीमा छोडेको हो।
प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार राणाको मुखमा क्यान्सर भएको र थप उपचार आवश्यक परेकाले सरकारी वकिल कार्यालयको सहमतिमा श्रीमतीको जिम्मामा छोडिएको हो। अधिकारीले भने, “उहाँको उपचारको आवश्यकता भएकाले हाजिरी जमानीमा रिहा गरिएको हो।”
राणालाई गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा राज्यविरुद्धको कसुरमा प्रहरीले पक्राउ गरेको थियो। उक्त प्रदर्शनमा वरिष्ठ नेता रविन्द्र मिश्र पनि सहभागी थिए र उनी पनि पक्राउ परेका थिए।
क्यान्सर सर्भाइभर राणा भारतको टाटा क्यान्सर अस्पतालमा तीन महिना उपचार गराएर गत पुस दोस्रो साता काठमाडौं फर्किएका थिए। फर्किएपछि उनले सामाजिक सञ्जालमार्फत आफू निको भएको जानकारी दिँदै सबैप्रति आभार प्रकट गरेका थिए।
उनीविरुद्ध हाल मुलुकी अपराध संहिता ऐन, २०७४ अन्तर्गत राज्यविरुद्धको कसुर, राजद्रोह तथा संगठित अपराधको अभियोगमा अनुसन्धान भइरहेको छ। संहिताको दफा ५० अनुसार यस्तो कसुर गरेमा २५ वर्षसम्मको कैद सजाय हुन सक्छ।
चैत १५ को प्रदर्शन राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा दुर्गा प्रसाईं र ८६ वर्षीय पूर्वपञ्ज नवराज सुवेदी नेतृत्वमा गरिएको थियो। प्रदर्शन हिंसात्मक बन्दै गएपछि सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान गएको थियो भने सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनीसमेत भएको थियो।
सरकारले राणालाई भारतमा फलोअप उपचारका लागि जान नदिएको भन्दै संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका थिए। उनले राणालाई तत्काल भारत पठाउन मागसमेत गरेका छन्।