लागुऔषधसहित चार जना युवा प्रहरी नियन्त्रणमा

  • नमस्ते कर्णाली

  • बैशाख ४, २०८२

    दाङ । दाङको घोराही–१९ स्थित दुईखोलीबाट लागुऔषध ब्राउनसुगरसहित रोल्पाका चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा नगरपालिका–८ का २६ वर्षीय रविन घर्ती मगर, २५ वर्षीय विकास केसी, रोल्पा नगरपालिका–२ का २७ वर्षीय समिप रोका मगर र २५ वर्षीय रिमन पुन मगर रहेका छन्।
    जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सोम घर्ती मगरका अनुसार घोराहीबाट रोल्पातर्फ जाँदै गरेका दुई सवारी साधनलाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

    प्रहरी चौकी दुईखोलीबाट खटिएको टोलीले रा.४.प.४३५३ नम्बरको मोटरसाइकल र लु.प्र ०२–००१प १३७६ नम्बरको स्कुटर रोकेर चेकजाँच गर्दा ब्राउनसुगर जस्तो देखिने लागुऔषध फेला पारेको थियो।
    उनीहरूको साथबाट प्लास्टिकसहित ५ ग्राम १० मिलिग्राम र प्लास्टिक हटाएर ४ ग्राम ६२० मिलिग्राम शुद्ध ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका युवामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • ४ बैशाख २०८२, बिहीबार १२:१५ प्रकाशित

  • Nabintech